
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आउनु नपर्ने बताएका छन् ।
उनले प्रहरी जहाँ बोलाए पनि आफू उपस्थित हुन तयार रहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘भर्खरै मलाई पक्राउ गर्ने सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरीले बारम्बार आउनुपर्दैन, जहाँ बोलाउँछ, म त्यहीँ जान्छु। अब मेरो थुनिएर आन्दोलन रोकिँदैन, किनभने दुर्गा अब व्यक्ति मात्र होइन, विचार हो, अभियान हो’ उनले भनेका छन् ।
उनले आजको आन्दोलनका क्रममा नेपाल सरकारले एक युवाको हत्या गरेको आरोप लगाएका छन् । सरकारको दमनकै कारण अप्रिय घटना सिर्जना भएको उनको दाबी छ।
‘हामी वैदिक विधिअनुसार पूजा अर्चना गरी आमाको आशीर्वाद लिएर शान्तिपूर्ण रूपमा कार्यक्रम स्थलतर्फ जाँदै थियौं। त्यही बेला अश्रुग्याँस प्रहार भइरहेको देख्यौं। यस्तो अवस्थामा कुन नेपालीको रगत उम्लिँदैन ?’ उनले लेखेका छन्।
उनका अनुसार आन्दोलनकारीहरू तोडफोड, आगजनी वा प्रहरीमाथि आक्रमण गर्न गएका थिएनन्, बरु शान्तिपूर्ण रूपमा सभा तथा घोषणा कार्यक्रममा सहभागी हुन गएका थिए ।
‘सरकारले अनावश्यक रूपमा दमन गर्यो। यही दमनकै कारण अप्रिय अवस्था सिर्जना भएको हो। यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ ।’
प्रतिक्रिया