
काठमाडौं । तीनकुनेस्थित राजावादीको आन्दोलनमा एक पत्रकारले ज्यान गुमाएका छन् । अराजक हिंसात्मक गतिविधिमा उत्रिएका राजावादीले एक घरमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको निधन भएको हो ।
सो घरमा भिडियो खिच्न पसेका रजकले त्यहीँ जलेर ज्यान गुमाएका हुन् ।
आगो लागेर पूर्णरूपमा क्षती भएको घर बाहिर पर्खिरहेका एभिन्युज टेलिभिजन संवाददाता सुशिल पौडेलले रजकले ज्यान गुमेकामा निकै दुखित रहेको प्रतिक्रिया दिए । रजक भिडियो खिच्न सो घरभित्र पसेका थिए तर उनी नफर्केपछि सँगै गएका रिपोर्टर रूँदै साथी भित्रै फसेको भन्दै उद्दारका लागि अपिल गरेका थिए । धेरैबेरसम्म खोज्दा पनि उनलाई नभेटिएको र उनको फोनमा सम्पर्क हुन सकेको थिएन ।
उनी भिडियो खिच्न गएका बेलामा आन्दोलनकारीले घरको पहिलो तलामा मसाल फालेका थिए । त्यसपछि घरमा आगो सल्किएको हो । सो आगो डेढ घण्टापछि मात्रै निभाइएको थियो । करिब आधा घण्टापछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले तोडफोड गरेर निभाउन दिएका थिएनन् ।
एभिन्यूज टेलिभिजनको अनलाइन संस्करणमा भनिएको छ, ‘एभिन्युजका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।’

आगोबाट जलेका रजकको शव पहिचान गर्न नसक्ने स्थितिमा छ । शव अत्यधिक जलेको कारण पहिचान गर्न कठिन भएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दै शवको मुचुल्का उठाइरहेको छ ।
एभिन्युज टीभीले रजक मृत्यु भएको भन्दै ब्रेकिङ न्युज चलाइरहेको छ । टेलिभिजन अध्यक्ष भास्करराज राजकर्णीकार यतिबेला तीनकुन पुगेका छन् । राजकर्णीकार आजै राजावादीको आवाज निषेध नगर्न सरकारलाई अपिल गर्ने ३२ व्यवसायीमध्ये अग्रमोर्चाका हुन् ।
उनीहरूले सरकारलाई निषेधको राजनीति नगर्न सरकारलाई आग्रह गर्दै विभिन्न क्षेत्रका ३२ जना अगुवाले संयुक्त अपिल जारी गरेका थिए ।
प्रतिक्रिया