तीनकुनेमा तनाब, हिंसात्मक बन्यो राजावादीको प्रदर्शन

574
Shares

काठमाडौं । शुक्रबार विवादास्पद मेडिकल व्यावसायी दुर्गाको कमाण्डमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले स्थानीयको घरमा आगोसमेत लगाइदिएका छन् ।

मध्याह्न तीनकुनेस्थित चौरमा सभा आयोजना गर्ने गरि मञ्च तयार गरिएको थियो । काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट राजावादीहरु जुलुसहित तीनकुने क्षेत्रमा भेला भएका थिए ।

उनीहरुलाई रिङरोडबाट भित्र प्रवेश गर्न नदिनका लागि प्रहरीले बानेश्वरतर्फको सडकमा व्यारिकेट राखेर रोकेको थियो । किनकी, आजै भृकुटीमण्डमा गणतन्त्रवादीहरुको शक्ति प्रदर्शन रहेको छ ।

दुई पक्षबीचको सम्भावित मुठभेडलाई रोक्न प्रहरीले बानेश्वर आसपासको सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर, राजावादीहरुको समूह तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न खोज्यो ।

प्रहरीले उनीहरुलाई रोक्नका लागि बारम्बार माइकिङ गरे पनि राजावादीहरु अघि बढ्न खोजे ।

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्‍यो । पानीको फोहोरा र अश्रुग्यास प्रहार गरि राजावादीहरुलाई प्रहरीले तितरबित बनाएको थियो ।

रिसाएका प्रदर्शनकारीले त्यसपि तीनकुने सडकको नजिक रहेका व्यक्तिका घरमा ढुंगामुढा गरे । जसका कारण कयौं घरहरुमा क्षति पुगेको छ ।

प्रहरीको बल प्रयोगपछि केही आन्दोलनकारी घाइते भएको राजावादी नेताहरुले जनाएका छन् ।

कार्यक्रमको सभास्थलमा भेला भएका राजावादी नेताहरु अश्रुग्यास प्रहार भएपछि त्यहाँबाट हिँडेका थिए ।

आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईंको गाडीमा समेत तोडफोड भएको छ ।