राजावादी र गणतन्त्र पक्षधरलाई काठमाडौं महानगरले गर्‍यो यस्तो अपिल

8.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १५ गते(आज) मनाइने पाहाँचर्‍हे जात्राका क्रममा कुनै पनि सभा, सम्मेलन वा अन्य गतिविधि नगर्न अनुरोध गरेको छ ।

महानगरले जात्रालाई अवरोध पुर्‍याउने कुनै पनि क्रियाकलाप नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै, सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ ।

महानगरले नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै जात्रा बसन्तपुर, न्युरोड, यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने जनाएको छ । जात्राको सहज सञ्चालन तथा आवागमन व्यवस्थित गर्न वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।

शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएकाले सुरक्षा सतर्कता बढाइएको छ । राजावादी समूहले तीनकुनेमा सभा गर्ने तयारी गरेका छन् भने गणतन्त्र समर्थकहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् ।

महानगरपालिकाले जात्राको अवरोधबिना सञ्चालन सुनिश्चित गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । साथै, महानगर प्रहरी बलले जात्राको मार्गमा सहज आवागमनका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।