
काठमाडौं । गणतन्त्र र राजावादीको प्रदर्शनका कारण शुक्रबार(आज) काठमाडौंको सवारी अस्तव्यस्त हुने भएको छ । काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यी प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने सम्भावना छ । एसईईका कारण ११ बजेपछि मात्र प्रदर्शनकारीलाई समय उपलब्ध गराइएको जनाइएको छ ।
सवारी व्यवस्थापनका लागि १ हजार ८०० ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
गणतन्त्रवादीहरु र राजवादीहरुको छुट्टाछुट्टै र्याली निस्किने भएसँगै रिङरोडसँगै उपत्यका भित्रको सडक अस्तव्यस्त हुने भएको छ ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
त्यसैगरी, राजावादीहरुले दुर्गा प्रसाईं नेतृत्वमा तीनकुनेमा कार्यक्रम गर्नेछन् ।
रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज बन्नेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुन सक्ने भएकाले वैकल्पिक रुट तय गर्न प्रहरीले अनुरोध गरेक छ ।
प्रदर्शनको शान्ति सुरक्षाका लागि २५ सय प्रहरी खटाइने छ । प्रदर्शनमा हुन सक्ने घुस पैठ र सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् ।
त्यस्तै १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा स्रोतको भनाइ छ ।
गणतन्त्र र राजावादीको प्रदर्शनमा दुई पक्षलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । राजावादीहरुलाई रिङरोडभित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीलाई रिङरोड आसपास प्रवेश नदिने गरि सुरक्षा रणनीति तयार भएको छ ।
राजावादीको जुलुस भक्तपुरबाट मुख्य सडकमार्ग हुँदै तीनकुने आउने छ भने जोरपाटी, नयाँ बसपार्कबाट चाबहिल हुँदै तीनकुने आउने छ । कलंकीतर्फको जुलुस सातदोबाटो कोटेश्वर हुँदै तीनकुने आउने गरि व्यवस्थापन मिलाइएको छ ।
समाजवादी मोर्चाको जुलुस भने बबरमहल माइतीघर, कुपन्डोल थापाथली, सोह्रखुट्टे पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने जनाइएको छ ।
प्रतिक्रिया