बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा, एन्डी बर्नम नयाँ उत्तराधिकारी बन्ने सम्भावना


एजेन्सी । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर सम्बोधन गर्दै उनले पदत्याग गर्ने आफ्नो योजना सार्वजनिक गरेका हुन् ।

सम्बोधनका क्रममा स्टार्मरले आफ्नो कार्यकालमा भएका हरेक निर्णय ‘आफूले माया गर्ने देशलाई सर्वोपरी ठानेर’ लिएको दाबी गरे । दुई वर्षअघि लेबर पार्टीको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री बनेका उनले आफू सत्तामा आउँदा पार्टी ‘राजनीतिक, आर्थिक र नैतिक रूपमा जर्जर’ अवस्थामा रहेको स्मरण गरे।

उनले पार्टीभित्रको यहुदीविरोधी भावनालाई निर्मूल पारेर अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा जनताको विश्वास पुनः स्थापित गरेको दाबी समेत गरे ।

स्टार्मरको उत्तराधिकारीका रूपमा गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नमलाई हेरिएको छ ।

स्टार्मरले लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई ९ जुलाईदेखि नयाँ नेतृत्वको मनोनयन खुला गर्न र ग्रीष्मकालीन बिदासम्म प्रक्रिया पूरा गर्न आग्रह गरेका छन् । नयाँ प्रधानमन्त्रीको चयन सेप्टेम्बरमा हुने पार्टी अधिवेशनसँगै हुने अपेक्षा गरिएको छ ।

आफ्नो राजीनामाबारे स्टार्मरले राजा चार्ल्सलाई फोनमार्फत जानकारी गराइसकेका छन् ।

नयाँ नेतृत्व चयन नभएसम्म उनी प्रधानमन्त्रीकै रूपमा बहाल रहनेछन्। उनले आफ्नो उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘मैले पहिलेको भन्दा अझ बलियो र न्यायपूर्ण बेलायत विरासतका रूपमा छोड्दै छु।’

Skip This