
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसदहरूले सरकारलाई पुनर्विचार गर्न पत्र पठाउनुपर्ने प्रस्ताव राखे । समितिका पूर्वसभापति तथा कांग्रेस सांसद रामकृष्ण यादवले उक्त प्रस्ताव अघि सारेका थिए ।
‘उहाँलाई हटाउनु पर्ने थिएन । अहिले सर्वत्र यसबारे बहस भइरहेको छ । अब लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔं,’ यादवले भने ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलका सांसदहरूले सरकारको निर्णयबारे प्रष्ट धारणा बनाउन आग्रह गरेका थिए ।
नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारले घिसिङलाई हटाउने निर्णयमा दिएको तर्कलाई निराधार भन्दै कडा आलोचना गरे ।
‘नेपाल विद्युत् प्राधिकरणका एमडीलाई हटाउने प्रमुख कारण खोज्दा गम्भीर केही पाइएन । मुख्य आरोप उहाँले काम गर्न नसकेको भन्ने छ। तर, यो कसैले पत्याउने कुरा होइन,’ शर्माले बैठकमा भने।
उनले कुलमानलाई हटाउनु देशको दुर्भाग्य भएको उल्लेख गर्दै सरकारलाई निर्णय सच्याउन आग्रह गरे ।
‘काम गर्ने योग्य व्यक्तिलाई हटाउनु दुर्भाग्यपूर्ण छ । सरकारले ठूलो गल्ती गर्यो, भोलि पश्चाताप हुनेछ,’ शर्माले भने ।
उनले आफू ऊर्जामन्त्री हुँदा कुलमानलाई नियुक्त गरेको उनले स्मरण गरे।
प्रतिक्रिया