
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गर्यो ।
आइतबार बिहान कार्यालय खुलेपछि कुलमान बर्खास्तीको र हितेन्द्र नियुक्तिको पत्र कुरेर बसे । तर यो समाचार तयार पार्दासम्म दुबैले सरकारबाट औपचारिक पत्र पाएका छैनन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि मुख्य सचिवले प्रमाणीकरण नगरिसकेका कारण शाक्यले नियुक्ति र घिसिङले बर्खास्तीको पत्र बुझ्न पाएका छैनन् । जसका कारण मंगलबार शाक्यले पदबहाली गर्न पाएनन् भने अदालत जाने तयारीमा रहेका घिसिङसमेत बर्खास्तीको पत्र नआएका कारण अलमलमा छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिपरिषद्को निर्णय नआइसकेकाले नियुक्तिपत्र दिन बाँकी रहेको बताए । ‘मन्त्रिपरिषदबाट लिखित निर्णय आएको छैन । आउने बित्तिकै हामी नियुक्ति पत्र दिन्छौं,’ उनले भने, ‘आउँदै होला कि ?’
साउन २४ गते दोस्रो कार्यकाल पूरा हुन लागेका घिसिङ बर्खास्तीमा परेका हुन् । उनी बर्खास्तीमा परेपछि पद थमौतीको अन्तरिम आदेश माग गर्दै अदालत जाने तयारीमा छन् । उनले यस विषयमा कानुनी परामर्श समेत गरिसकेको स्रोतको दाबी छ।
यता शाक्य दिउँसै प्राधिकरणमा पदबहालीका लागि जाने तयारीमा थिए तर नियुक्तिपत्र नआएकाले रोकिएका छन् ।
पहिलो कार्यकालमा केहि महिना मात्रै काम गर्न शाक्यले पाएका थिए । सरकारले २०७८ साउन २५ गते उनलाई ऊर्जा मन्त्रालय सरुवा गरेर कुलमान घिसिङलाई प्राधिकरणको जिम्मा दिइएको थियो । त्यसपछि सरकारको उक्त निर्णय विरुद्ध अदालत गएका थिए । उनको मुद्धामा कुनै निर्णय नभई पदावधि सकियो ।
ऊर्जा मन्त्रालय र कुलमानबीच विवाद चर्किएपछि उनी प्रबन्ध निर्देशक बन्न लागि परेका थिए । घिसिङलाई हटाउने संकेत पाएपछि उनी दौडधुपमा थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट उनी ४ वर्षका लागि प्राधिकरणको जिम्मेवारीमा जान लागेका हुन् ।
प्राविधिक रुपमा अब्बल शाक्य व्यवस्थापनमा भने कमजोर रहेको प्राधिकरणभित्र टिप्पणी हुने गरेको छ ।
कुलमानको बर्खास्तीपछि मंगलबार दिनभर जसो काठमाडौंमा बिरोध प्रदर्शन भइरहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित स्वतन्त्र नागरिकको समूहले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका छन् । त्यसक्रममा घिसिङ समर्थक र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ । त्यस्तै सिंहदरबारमा कुलमानको पक्षमा प्रदर्शनमा उत्रिएका नेकपा बहुमतका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया