मुकेश अम्बानीको जिओ र एलन मस्कको स्पेसएक्सबीच स्टारलिंक सम्झौता

1k
Shares

एजेन्सी । एयरटेलपछि रिलायन्स जिओले पनि अमेरिकी अर्बपति व्यापारी एलन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ ।

स्टारलिंक एक स्याटेलाइट ब्रडब्यान्ड इन्टरनेट सेवा हो जसले स्याटेलाइटको पहुँचभित्र कहीँ पनि इन्टरनेट सेवा प्रदान गर्न सक्छ।

यस विशेषताको कारण टाढाका वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचका लागि यो एक उत्कृष्ट विकल्प बन्न सक्छ जहाँ परम्परागत रूपमा इन्टरनेट सेवा उपलब्ध हुँदैन ।

समाचार संस्था एएनआईका अनुसार जिओ प्लेटफर्म्स लिमिटेडले एक प्रेस विज्ञप्तिमार्फत जिओ र स्टारलिंकले पूरै भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्नका लागि सँगै काम गरिरहेको छ र यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासको हिसाबले कोसेढुंगा सावित हुनेछ जनाएको छ ।

जेपीएलले भनेको छ, ‘जिओ प्लेटफर्म्स लिमिटेडले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन स्पेसएक्ससँग सम्झौता गरेको छ। जिओ आफ्ना खुद्रा आउटलेट र अनलाइनमार्फत स्टारलिंकको सेवा प्रदान गर्नेछ।’

गत वर्ष स्पेसएक्सका मालिक एलन मस्क र जिओका मालिक मुकेश अम्बानीबीच भारतको स्याटेलाइट ब्रडब्यान्ड बजारका लागि प्रतिस्पर्धा देखिएको थियो ।

गत अक्टोबर महिनामा भारत सरकारले घोषणा गरेको थियो कि ब्रडब्यान्डका लागि स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक तरिकाले गरिनेछ ।

मस्क यसअघि पनि लिलामी मोडेलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी यसको समर्थक रहेका छन् ।