
काठमाडौं । अवैध रुपमा अमेरिका बसेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार नेपाल फिर्ता गर्यो ।
अमेरिकाभित्र बसेको सबै अवैध आप्रवासीलाई देश निकाला गर्ने क्रममा आज नेपालीलाई पनि स्वदेश पठाइदिएको हो । आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानमार्फत नेपाल पठाएको हो । उनीहरू काठमाडौंका त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भइसकेका छन् ।
सात जना पुरुष र एक जना महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।
विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराईले प्रक्रिया पुर्याएर ती नेपालीहरूलाई घर जान दिइने जानकारी दिए ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै १ करोड १० लाख अप्रमाणित आप्रवासी थिए । उक्त सङ्ख्या अमेरिकाको कुल जनसङ्ख्याको झन्डै ३.३ प्रतिशत हो ।
धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा एक दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन्। त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन् ।
उनीहरू मुख्यतः क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोई राज्यमा केन्द्रित रहेका छन् ।

कति छन् नेपाली ?
गैरकानूनी रुपमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरु नभएका आप्रवासीहरुलाई अवैध आप्रवासी भनिएको छ।
‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए।
ठूलो मात्रामा आप्रवासीहरूलाई निष्कासन गर्न थालेसँगै अमेरिकामा रहेका नेपाली आप्रवासी समुदाय पनि प्रभावित भएको हो ।
ट्रम्पको निष्कासन योजनामा अमेरिका छोड्न अदालतबाट अन्तिम आदेश पाइसकेका तर अझै अमेरिका नछोडेका व्यक्तिहरू मुख्य प्राथमिकतामा पर्नेछन् ।
इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्टद्वारा सार्वजनिक तथ्यांक अनुसार १ हजार ३६५ नेपालीहरूले अन्तिम निष्कासन आदेश पाए पनि कुनै कानुनी सुरक्षा नपाएका कारण अमेरिका बसिरहेका छन् । टीपीएस ( टेम्पोररी प्रोटेक्टेड स्टाटस) वा अन्य कुनै कानुनी सुरक्षा नभएका यी व्यक्तिहरू पक्राउ परेमा तुरुन्त निष्कासनको जोखिममा पर्नेछन्।
यीमध्ये अधिकांश व्यक्ति २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका हुन् र निष्कासनको अन्तिम आदेश पाइसकेका आप्रवासी भएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।
२४ जुन २०१५ भन्दा अगाडि अमेरिका प्रवेश गरेका नेपालीहरू टीपीएस अन्तर्गत संरक्षित भएका कारण उनीहरूलाई तत्काल निष्कासन गर्न नसकिने बताइएको समाचारमा उल्लेख गरिएक छ ।
हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्कासन आदेश जारी गरिसकेका छन् । तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् ।
तर, अझै करिब १ हजार ५०० व्यक्ति टीपीएस अन्तर्गत सुरक्षित भए पनि निष्कासन आदेशको अन्तिम सूचीमा छन्।
अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ । आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ ।










प्रतिक्रिया