
काठमाडौं । अवैध रुपमा अमेरिका बसेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डिपोर्ट गरेको छ ।
अमेरिकाभित्र बसेको सबै अवैध आप्रवासीलाई देश निकाला गर्ने क्रममा आज नेपालीलाई पनि स्वदेश पठाइदिएको हो । आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानमार्फत नेपाल पठाएको हो । उनीहरू काठमाडौंका त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भइसकेका छन् ।
स्रोतका अनुसार सात जना पुरुष र एक जना महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया