
काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको करोडौं बचत दुबई र हङकङ लगिएको पाइएको छ । उक्त सहकारीका बचतकर्ताबाट संकलन भएको २७ करोड रुपैयाँ दुबई र हङकङ लगिएको पाइएको हो ।
पटक पटक गरी उक्त रकम बराह ज्वेलरी इण्डष्ट्रिजका सञ्चालक शिवकुमार विश्वकर्मा (लामिछाने)ले दुबई र हङकङ लगेको तथ्य फेला परेको हो । दुई देशमा २७ करोड रकम लगेको भए पनि सहकारीको सिस्टममा रकम कम देखिएको प्रहरी अनुसन्धानमा पाइएको छ।
सहकारीले प्रयोग गर्ने गेटवे सफ्टवेयरमा हङकङमा ६५ कारोबार मार्फत १ करोड ६७ लाख ९९ हजार ८५५ रुपैयाँ र दुबईमा २ कारोबारमार्फत १ लाख रुपैयाँ ऋण लगानी स्वरुप लगेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त सहकारीका ४ हजार १६८ जना बचतकर्ताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बचत ठगी भएको छ ।
प्रहरीले गरेको अनुसन्धानमा २७ करोड रुपैयाँ विदेशमा लगानी भएको देखिएको छ । शिवको निर्देशनमा सहकारीको पासबुकमार्फत पैसा संकलन गर्ने र त्यो पैसा सहकारीमा दाखिला नगरी ज्वेलरी चलाउन खर्च गरेको भेटएको छ । साथै सहकारीको पैसाबाट शिवले निजी सम्पत्ति खरिद, भोग बिलासीमा खर्च गर्ने गरेको पाइएको छ ।
बचतकर्ताले बचत गरेको पैसा सिधै सहकारीमा जम्मा नभएर बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिमा जम्मा हुने गरेको संस्थाका सञ्चालक तथा शिवकुमार विश्वकर्माकी पूर्वपत्नी रिना राई लामिछानेले स्वीकार गरेकी छन् । सहकारीको पैसा अन्य कम्पनीमा लगानी हुने गरेको उनको बयान छ ।
सहकारी सञ्चालकले आफ्ना कर्मचारीको नाममा समेत सहकारीबाट कर्जा लिएर अपचलन गर्ने गरेको पाइएको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका संस्थापक शिव कुमार विश्वकर्मा लामिछाने हुन् । सहकारीको नाममा भएको घर जग्गा विश्वकर्मा र उनको स्व.आमा विष्णुमाया लामिछानेको नाममा छ ।
राईले शिवसँग सम्बन्धबिच्छेद भइसकेको र २०७५ सालदेखि काठमाडौंमै रहेको माइतीघरमा बस्दै आइरहेको प्रहरी बयानमा उल्लेख गरेकी छन् ।
उनले आफ्ना पूर्वश्रीमान शिवकुमार विश्वकर्मा (लामिछाने) र सासुआमा विष्णु माया लामिछानेको नाममा तथा कम्पनीहरुको नाममा जग्गा जमिन रहेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान सुनसरी २०६६ सालमा स्थापना भएको थियो । सहकारीबाबाट बचत संकलन तथा भुक्तानी, ऋण प्रबाह, ऋण असुली, सेयर वितरण लगायतको आर्थिक कारोबार हुने गरेको उनको भनाइ छ ।
आफू सहकारीको कुनै पदमा नभए पनि आफूलाई थाहै नदिन सञ्चालक समिति सदस्य राखेको उनको दाबी छ । आफूलाई सदस्यमा मनोनित गरेको समयमा बच्चा सानै भएकाले सहकारी संस्थामा नभएको उनको दाबी छ ।
बराह ग्रुपअन्तर्गत नेपालभित्र र बाहिर विभिन्न संस्था तथा कम्पनीहरु सञ्चालनमा रहेका थिए । ती कम्पनीमा शिव कुमार विश्वकर्मा (लामिछाने), मान बहादुर विश्वकर्मा, गंगा बहादुर कालिकोटे, शुभ राज खाती, सौराज भन्ने अम्बर बहादुर विश्वकर्मा, शरण विश्वकर्मा, हरी कुमार धमला विश्वकर्मा, विकाश लाम्गादे, डम्वर बहादुर विश्वकर्मा, अनुप कुमार खड्गी, दिपिका सिंह गदाल, पुर्ण बहादुर कालिकोटे भन्ने पूर्णकुमार विश्वकर्मा र मन्दिरा लामिछाने लगायतका व्यक्तिहरु संस्थापक तथा सेयरधनी रहेको उनको भनाइ छ ।
ति कम्पनीमा भएका सञ्चालक मध्ये मान बहादुर विश्वकर्मा हाल सहकारीको अध्यक्ष छन्, गंगा बहादुर कालिकोट कालिकोटे सहकारीको लेखा सुपरिवेक्षण समितिका सदस्य, शुभ राज खाती सहकारीको शिक्षा उप समितिका सदस्य, सहकारीका सञ्चालक अम्बर बहादुर विश्वकर्मा, सहकारीका पूर्वसञ्चालक विकाश लाम्गादे, पूर्व सञ्चालक पुर्ण बहादुर कालिकोटे भन्ने सहकारीका पूूर्व उपाध्यक्ष हुन् ।
उनका अनुसार नेपाल बाहिर हङकङ, यूके, दुबईमा कम्पनी सञ्चालन गरेका थिए । बेलायतको व्यापार ब्याबसाय शिव कुमार विश्वकर्मा (लामिछाने) ले हेर्ने गरेका थिए ।
२०६९ साल माघसम्म शिवका बुबाले ईन्द्र कुमार विश्वकर्माले हङकङको ब्यापार हेर्ने गरेका थिए । २०६९ माघ १६ उनको मृत्यसपछि हङकङको व्यवसाय रिना, उनका तत्कालिन श्रीमान शिव, मान बहादुर विश्वकर्मा समेतले कर्मचारी राखी व्यवसाय सञ्चालन गरेका थिए । त्यो समयमा बराह ज्वेलरी नाममा हङकङमा गरगहनाको व्यवसाय संचालन भएको थियो । पछि राई र इन्द्र कुमार विश्वकर्माको आधा/आधा सेयर थियो । इन्द्रको मृत्य उनको सेयर शिवको नाममा ल्याएको थियो । २०७२ साल तिर कम्पनीमा कारोवार गर्न सहजताको लागी भनेर राईको नाममा रहेको सेयर समेत शिवको नाममा नामसारी भएको थियो ।
हङकङमा रहेको सुनचादी पसलको नामबाट हङकङमा बस्ने नेपालीको बचत, सेयर संकलन तथा व्याज सहित भुक्तानी गर्ने गरेका थिए । साथै बराह बचत तथा ऋण सहकारी संस्था धरान रकम जम्मा गर्ने गरेका थिए । त्यसको ब्याज पनि हङकङमा रहेका मानिसहरुलाई दिने गरेको थियो ।
हङकङमा संकलन भएको रकमको गरगहना किनेर नेपाल ल्याउने गरेको राइको दाबी छ । कतिपय रकमहरु नगदै शिव र मान बहादुर विश्वकर्माले लिने गरेको उनको दाबी छ ।
हङकङमा कमर्चारीको रुपमा निलिमा राई, डेनिश गुरुङ, अनोज रोक्का, सोनु सुब्बा, अनिता लिम्वु, सम्झना राई लगायतका रहेका थिए ।
२०७१ सालसम्म हङकङको व्यबसाय धेरै घाटामा गएकाले २०७१ देखि २०७३ सम्म राईले हङकङको व्यापार ब्यबसाय सञ्चालन गरेकी थिइन् । त्यो बेलादेखि श्रीमान शिवसँग सम्बन्ध बिग्रिएपछि हङकङको ईन्द्र बराह ज्वेलरी लगायतको व्यवसाय अनोज रोक्का लगाएको उनको दाबी छ । हाल शिवले सम्पूर्ण कम्पनीहरु आफैले संचालन गर्दै आएका छन् ।
राईका अनुसार २०७८/०७९ साल तिर नै नेपालको व्यवसाय तथा बराह बचत तथा ऋण सहकारी संस्थाको अवस्था बिग्रिन थालेपछि हङकङको व्यापार ब्याबसाय बन्द भएको छ । यस्तै दुबई, बेलायतको पनि ब्यबसाय बन्द भएको छ ।
सहकारीका बचतकर्ताको बचत प्रायः नगद रकम लकरमा राख्ने र त्च्यो रकमले सुन लगायत गरगहना किन्ने गरेका थिए ।
हङकङमा व्यवसाय गरेको समयमा त्यहाँको ह्याङ सिङ बैंकमा राईको नाअममा रहेको खातामा पैसा जम्मा गर्ने गरेको उनले स्वीकारिन् । पछि त्यही बैंकमा शिवको खाता खोलेर रकम जम्मा गर्न थालीको उनको भनाइ छ ।
बराह ज्वेलरीकै पासबुकबाट हङकङबाट नगद संकलन हुने गरेको उनको दाबी छ ।
उनका अनुसार सहकारीका बचतकर्ताको रकम स्व. इन्द्र कुमार विश्वकर्मा, शिव कुमार विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गंगा बहादुर कालिकोटेले घर जग्गा खरिद गर्ने गरेका थिए । साथै आफू अनुकुलका मानिसहरु तथा आफूहरुले बिस्तार गरेका कम्पनीहरुको नाममा राखेका थिए ।
बराह बचत तथा ऋण सहकारी संस्थाभन्दा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिधरानमा ग्राहकहरुको रकम बढी जम्मा भएको उनको दाबी छ ।
‘यो कारोबार कानून बिपरितको हो’ उनले भनिन् ‘बराह बचत तथा ऋण सहकारी संस्था धरान सुनसरी, बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा. लि. धरान सुनसरी र सो संग सम्बन्धित अन्य कम्पनीहरुको कारोवारको बिषयमा भन्नु पर्दा यी सहकारी संस्था तथा कम्पनीहरुको सस्थापकहरु प्रायःएउटै भएको कारण संचालकहरुकै निर्देशनमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान सुनसरीबाट ग्राहकहरुलाई पासबुक बितरण गरी ग्राहकहरुको ठूलो परिमाणको रकम बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा. लि. धरान सुनसरीमा प्रयोग भएको सफ्टवेयरमा इन्ट्री भई रकम बचत, भूक्तानी, कम्पनीहरुमा कर्जा प्रवाह हुँदै आएको थियो,’ यी सम्पूर्ण कारोबारहरु कानून बिपरित भएको उनको स्वीकारोक्ती छ ।
सहकारीबाट संकलन भएको रकम शिवले विदेशमा लगानी गर्नुका साथै करिब २ दर्जन कम्पनीमा लगानी गरेका छन् ।
शिव लामिछानेका २५ वटा कम्पनी छन् । उनी बराह ग्रुप अफ कम्पनी, बराह ज्वेलरी इण्डष्ट्रिज, न्यू बराह ज्वेलरी न्यूरोड पिपलबोट (व्यक्तिगत फर्म), न्यू बराह ज्वेलरी न्यूरोड पिपलबोट (साझेदारी फर्म ), गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज नयाँ रोड पोखरा, श्रीपा सुपर मार्केट स्टोर, बराह कृषि उपज तथा पशुपालन, बराह फेमिली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह नेशनल इन्भेष्टमेन्ट, नारायणी बराह ज्वलेरी ईण्डष्ट्रिज, बराह प्रोपटी सर्भिस, बराहा चिल्ड्रेन वल्र्ड, पिपलबोट बराह ज्वेलर्स, बराह मोर्टस्, बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्टमेन्ट, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, टाईम्स रेमिट, कृपा फाउन्डेशन, इन्द्र बराहा ज्वेलरी इन्डस्ट्रिज एण्ड रिसर्च सेन्टर, इन्द्रेश्वर टेक्सटाइल्स, कृपा दृश्य डिजीटल प्रोडक्सन कम्पनीका संस्थापक तथा शेयरधनी हुन् ।
उक्त सहकारी ठगी प्रकरणमा शिवका साथै सहकारीका अध्यक्ष, सञ्चालक, कर्मचारी ऋणीसहित २६२ व्यक्ति तथा कम्पनी विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोग दायर भएको छ ।
प्रतिक्रिया