विश्वकप जिताएका बुफोनसँगै प्रधानमन्त्री ओलीले गरे चियानास्ता

721
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुइजी बुफोनसँग भेट गरेका छन् ।

‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न काठमाडौं आएका लेजेण्ड फुटबलर बुफोनसँग प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले बुफोनसँग आज विहान सँगै चियानास्ता गर्ने अवसर मिलेको भन्दै भनेका छन्, ‘उहाँको नेपाल बसाइ सुखद् रहोस् ।’

‘केपी ओली कप फुटबल’ को फाइनल खेल सोमबार साँझ ६ बजे दशरथ रंगशालामा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए । यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।

आइतबार नेपाल आएका बुफोनले नेपाल आउने आफ्नो चाहना पूरा भएको भन्दै धन्यवाद दिए । नेपालको युनिक झण्डा र नेपालको हिमालबारे आफू युवाअवस्था देखिनै जानकार रहेको उनको भनाइ छ ।

सन् २००६ मा बुफनले इटालीलाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले इटालीको राष्ट्रिय टोलीका लागि १७६ खेल खेलेका छन् जसमा ८० खेलमा कप्तानी गरेका थिए । उनले पाँच पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाएका थिए ।