ऊर्जालाई कुलमानको जवाफ: मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन

2.6k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको प्रष्टीकरण दिएका छन् ।

बिहीबार ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाउँदै घिसिङले पुनः स्पष्टीकरण माग्नु कानुन र न्यायको सिद्धान्त विपरीत भएको जिकिर गरेका छन् ।

ऊर्जा मन्त्री दीपक खड्काले सचिव सुरेश आचार्यमार्फत् सोधेको स्पष्टीकरण मनोगत रहेको घिसिङको भनाइ छ ।

आफूमाथि लगाइएका आरोपहरू मनोगत रहेको दाबी गर्दै घिसिङले आफू मन्त्रिपरिषद्‌द्वारा नियुक्त भएकाले स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्र भएको उल्लेख गरे ।

कार्यकारी निर्देशक घिसिङले कुनै दोष बिना नै स्पष्टीकरण सोधिएको उल्लेख गर्दै यसअघि दिएका स्पष्टीकरण अस्वीकार गरिनुको ठोस कारण समेत अहिलेको स्पष्टीकरणमा उल्लेख नभएको जनाएका छन् ।

ऊर्जामन्त्री दिपक खड्काले घिसिङलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । ‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै २४ घण्टाभित्र जवाफ पेश गर्नेगरी मंगलबार स्पष्टीकरण सोधिएको थियो ।

सरकारले दिएको निर्देशन नमानेको भन्दै उर्जामन्त्री खड्काले उनलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थिए । सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउने कुनै निर्णय नगरेपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ऊर्जा मन्त्रालयले २४ घटाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको थियो ।

यसअघि उर्जा मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई २२ पुस र २८ पुसमा पनि स्पष्टीकरण सोधेको थियो । उक्त जवाफ चित्तबुझ्‌दो नभएको भन्दै पुन २४ घण्टे स्पष्टीकरण सोधेको हो ।