
एजेन्सी । विराट कोहलीको शतकमा भारतले च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा पाकिस्तानमाथि सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै १०० रन जोडे । उनले १११ बल खेल्दै ७ चौका प्रहार गरे ।
भारतका लागि श्रेयश अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रनको योगदान गरे ।
शुभमन गिल ४६ रनमा आउट हुँदा कप्तान रोहित शर्मा २० रन बनाए
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुसदिल साहले १ विकेट लिए ।
त्यसअघि युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । कप्तान मोहम्मद रिजवानले ४६ रन जोडे । पाकिस्तानका खुसदिल साह ३९ बलमा ३८ बनाउँदा बाबर अजाम २३ रनमा आउट भए ।
भारतका लागि कुलदिप यादवले सर्वाधिक ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्याले २ विकेट लिँदा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १–१ विकेट लिए ।
जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।
प्रतिक्रिया