
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले म्यानमारसँग २-२ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बराबरीमा रोकिएको हो ।
यो नतिजासँगै तीन खेलमा समान सात अंक रहे पनि गोल अन्तरका आधारमा म्यानमार विजेत र नेपाल उपविजेता बन्दै फाइनल पुगेका छन् ।
यसअघि दुवै टोलीले किर्गिस्तान र लेबनानलाई हराएका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे । म्यानमारका लागि मयत खिन र मे एचटेट लुले गोल गरे ।
खेलको छैटौं मिनेटमा मयतको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो ।
पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । सावित्राको क्रसलाई सविताले वान टचमै पोस्टको दिशा दिइन् ।
मेले १७औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन् । उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् ।
सावित्राले ४०औं मिनेटमा गोल गर्दा नेपाल २-२ को बराबरीमा आयो । उनले प्रीति राईको पासलाई सदुपयोग गरिन् ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । अब उपाधिका लागि बुधबार यी दुवै टोली भिड्नेछन् । फाइनल खेल बुधबार हुनेछ ।
प्रतिक्रिया