
काठमाडौं । नेपाली सेनाले देशभर १७६ स्थानमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ । त्यसका लागि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएको नेपाली सेनाले जनाएको छ ।
देशभर शंकास्पद वस्तुहरूको नष्ट गर्ने अभियान अन्तर्गत साउनदेखि हालसम्म ६२ वटा विस्फोटक पदार्थलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ ।
बाढी, पहिरो, आगलागी लगायतका विपद्को समयमा अग्रपंक्तिमा रही उद्धार कार्य गर्दै आएको सेनाले जनाएको । हालैको भारी वर्षाले सिर्जना गरेको संकटमा नेपाली सेनाले ९५३ जनाको सकुशल उद्धार गर्नुका साथै १६ जनाको शव व्यवस्थापन गरेको छ । त्यस्तै, विभिन्न स्थानमा ५३,४७८ किलो राहत सामग्री तथा ४,४५० लिटर इन्धन पुर्याइएको जनाएको छ ।
हेलिकप्टर र विमान दुर्घटनामा पनि सेना उद्धारमा सक्रिय बनेको छ ।
यस अवधिमा ४६४ जना घाइतेहरूको उद्धार, ५० जनाको शव व्यवस्थापन, २४ जनाको जीवित उद्दार गरिएको सेनाले जनाएको छ ।
शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहभागिता
संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपाली सेनाले हालसम्म ४४ वटा मिशनमा सहभागी भई १,५४,३४० जनाको सहभागिता जनाएको छ। हालै, भारतसहित विभिन्न मित्रराष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यास सम्पन्न गरिएको छ।
नेपाली सेनाले विभिन्न सडक तथा पुल निर्माणमा योगदान दिँदै आएको छ। हाल, काठमाडौं-विराटनगर-मधेश द्रुतमार्ग परियोजना अन्तर्गत ७०.९७७ किलोमिटर लामो सडक निर्माण कार्य जारी रहेको सेनाले जनाएको छ ।
सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष, चुरे संरक्षणका लागि ९,०४६ सुरक्षाकर्मी परिचालन गरेको छ। यसका साथै, “सगरमाथा सफाइ अभियान” अन्तर्गत हालसम्म ११९ टन फोहोर संकलन गरिएको सेनाले जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाका खेलाडीहरूको योगदान उल्लेखनीय छ । यस वर्ष, नेपाली सेनाले विभिन्न खेलकुद प्रतिस्पर्धामा २७६ स्वर्ण, १९२ रजत, र २५५ कांस्य पदक प्राप्त गरेको छ।
प्रतिक्रिया