मोटरसाइकल दुर्घटना: त्रिशूलीमा खसेका युवकको शव फेला

0
Shares

चितवन । मोटरसाइकल दुर्घटनापछि त्रिशुली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

फागुन २ गते इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल सडक किनाराको डिभाइडरमा ठोक्किए दुर्घटना भएपछि त्रिशूलीमा खसेर हराएका रोहित रानाको शव सशस्त्र प्रहरीले आइतबार फेला पारेको हो ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटना बिहान करिब ११:४० बजे भएको थियो ।

हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली निरन्तर खटिएको थियो । आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको नेतृत्वमा गएको टोलीले बिहान ९:३० बजे उनको शव फेला पारेर नदीबाट बाहिर निकालेको थियो।

परिवारका सदस्यहरूका अनुसार रोहित भारतीय सेनामा कार्यरत थिए र चितवनस्थित घरबाट काठमाडौं जान हिँडेका थिए ।