ज्याक मा चीनमा फेरि चर्चामा आउनुको अर्थ के ?

924
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र देशका केही प्रमुख व्यवसायी नेताहरूबीच यस हप्ताको बैठकले उत्साह र अड्कलबाजीलाई बढाएको छ । अलीबाबाका संस्थापक ज्याक मा उक्त कार्यक्रममा देखिएका थिए ।

सन् २०२० मा चीनको वित्तीय क्षेत्रको आलोचना गरेपछि सार्वजनिक जीवनबाट हराएका चीनका सबैभन्दा प्रमुख व्यवसायीहरूमध्ये एक ज्याक मा कार्यक्रममा देखिएका हुन् ।

सोमबारको कार्यक्रममा उनको पुनरागमनले ठूलो चर्चा पाएको छ । विज्ञ र विश्लेषकले उनी कार्यक्रममा सहभागी भएपछि चीनको प्रविधि क्षेत्र र समग्र अर्थतन्त्रलाई के अर्थ दिन्छ भनेर अनुमान गरिरहेका छन्।

यसको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको छ । अलीबाबाका सेयर तीव्र रूपमा बढेका छन् ।

बिहीबार, ई-कमर्स कम्पनी अलीबाबाले अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेको थियो । जसका कारण न्यूयोर्कमा यसको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्यो । कम्पनीको सेयर मूल्य यो वर्षको सुरुदेखि ६० प्रतिशतले वृद्धि भइसकेको छ।

विश्लेषकहरूले मुख्य व्यक्तिहरुसँगै ज्याक मा र डीपसिकका संस्थापक लियाङ वेनफेङको उपस्थितिलाई हेरिरहेका छन् ।

ज्याक मा ‘पुनर्स्थापित’ भएका हुन् ?

विश्लेषकहरूले बैठकबारे त्यतिबेला बुझे जब चिनियाँ सरकारी सञ्चार माध्यमहरूले कार्यक्रमका तस्वीरहरू सार्वजनिक गरे ।

‘ज्याक मा को उपस्थिति । उनका लागि अगाडिको सिट, सी जिनपिङसँग हात मिलाउनु यी सबै कुराले उनी पुनर्स्थापित भइसकेको देखाउँछ,’ चीन विश्लेषक बिल बिशपले भने।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ज्याक माको पुनरागमनको प्रशंसा गरिरहेका थिए ।

‘बधाई छ ज्याक मा सुरक्षित अवतरणको लागि,’ चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले लेखे।

‘ज्याक माको पुनरागमन हालको चिनियाँ अर्थतन्त्रका लागि एक ठूलो प्रेरणा हो,’ अर्को प्रयोगकर्ताले टिप्पणी गरे।

यस घटनाले यति ठूलो महत्त्व पाउनु स्वाभाविकै हो।

२०२० मा उनले चिनियाँ वित्तीय सम्मेलनमा दिएको टिप्पणी, जहाँ उनले चिनियाँ सरकारी बैंकहरूलाई ‘पाँडेनी पसल’ मानसिकता राखेको आरोप लगाएका थिए । त्यसबेला ज्याक मा चीनको प्रविधि उद्योगको पोस्टर ब्वाइ थिए।

सूचना प्रविधिमा कुनै अनुभव नभएका एक पूर्वअंग्रेजी शिक्षक माले दुई दशकअघि आफ्नो अपार्टमेन्टबाट अलीबाबा स्थापना गरेका थिए। जसका लागि उनले साथीहरूलाई आफ्नो अनलाइन बजारमा लगानी गर्न राजी गराएका थिए।

उनी चीनको सबैभन्दा ठूलो प्रविधि समूहहरू मध्ये एकको निर्माण गर्दै देशकै धनी व्यक्तिहरूमध्ये एक बन्न सफल भए।
त्यसअघि जब उनले चिनियाँ बैंक प्रणालीमा नवीनताको अभाव रहेको बताए त्यसपछि उनको ३४.५ अर्ब डलरको स्टक मार्केट सूचीकरण गर्ने योजना रद्द गरियो ।

यो कदमलाई त्यतिबेला बेइजिङले अत्यधिक शक्तिशाली बन्दै गएको कम्पनीलाई नियन्त्रणमा राख्न खोजेको रूपमा हेरिएको थियो । साथै अत्यधिक मुखर बन्दै गएको एक नेतालाई पनि संयमित बनाउने प्रयत्न गरिरहेको रुपमा हेरिएको थियो ।

राष्ट्रपति सी जिनपिङ उपस्थित भएको कार्यक्रममा ज्याक माको उपस्थिति धेरै राम्रो संकेत भएको विश्लेषकहरु बताउँछन् ।

तर केहीले सावधानी अपनाउन भनेका छन् । उनी वक्ताहरूको सूचीमा नरहनुले उनी पहिले जस्तै उच्च प्रतिष्ठामा फर्किन सकेका छैनन् भन्ने देखिने केहीको टिप्पणी छ । चिनियाँ सञ्चार माध्यमहरूले उनको उपस्थिति व्यापक रूपमा नछापेका कारण पनि उनी उच्च प्रतिष्ठामा फर्कि नसकेको कुरालाई पुष्टि गर्छ ।

के प्रविधि उद्योगमाथिको कडाइ समाप्त भएको हो ?

सी जिनपिङले कार्यक्रमका सहभागीहरूलाई उनीहरूको कम्पनीले नवीनता ल्याउन, वृद्धि गर्न र आत्मविश्वासका साथ अगाडि बढ्न आवश्यक रहेको बताएका थिए । चीनले सामना गरिरहेका आर्थिक चुनौतीहरू ‘अस्थायी’ र ‘स्थानीयकृत’ मात्र भएको उनको जोड थियो ।

‘अहिले निजी उद्यमहरू र निजी उद्यमीहरूले आफ्नो क्षमता पूर्ण रूपमा प्रदर्शन गर्ने उपयुक्त समय हो’ सीले भनेका थिए ।

यसलाई सरकारले निजी प्रविधि कम्पनीहरूलाई ‘अब तपाईंहरू पुनः हाम्रो विश्वासमा पर्नुभएको छ’ भन्ने सन्देश दिएको रूपमा हेरिएको छ ।

माको पतन एक व्यापक प्रविधि उद्योगमाथिको कडाइको सुरुवात भएको थियो ।

कम्पनीहरूले डेटा सुरक्षा, प्रतिस्पर्धा नियम र डिजिटल सम्पत्तिमाथि राज्यको नियन्त्रण जस्ता कडा नीतिहरूको सामना गर्नुपर्‍यो।

अमेरिकी प्रतिबन्धको कारणले भएको हो ?

यो बैठक यस्तो समयमा भयो जब चीनले आफ्नो ‘स्पुतनिक क्षण’ भोगेको थियो । अर्थात्, डीपसिकको नयाँ आर १ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको आगमन ।

यसको सार्वजनिकीकरणपछि चिनियाँ निर्मित एआई च्याटबट संसारभरि सबैभन्दा बढी डाउनलोड गरिने एपहरू मध्ये एक बन्यो ।

यसको प्रभाव अमेरिकामा समेत देखियो । प्रमुख अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य अचानक घट्न थाल्यो । अमेरिकाले प्रविधि क्षेत्रमा आफ्नो अग्रता गुमाउने डर देख्न थाल्यो ।

यसले चीनमा राष्ट्रिय गौरवको भावना फैलायो, जसले लगानीकर्ताहरूलाई पनि प्रविधि क्षेत्रका कम्पनीहरूमा लगानी गर्न आकर्षित गर्‍यो ।

गोल्डम्यान स्याक्सका अनुसार, ‘एआई प्रविधिको तीव्र विकासले चिनियाँ कम्पनीहरूको आम्दानी वृद्धि गर्न सक्छ । जसले २०० अर्ब डलर सम्मको लगानी आकर्षित गर्न सक्छ।’

यो नवीनता अमेरिकी प्रविधि र चिप निर्यात प्रतिबन्धकै कारण सम्भव भएको थियो ।

ट्रम्प पुनः राष्ट्रपति बनेपछि र उनको व्यापार शुल्क नीति लागू हुने सम्भावना रहेकोले सी जिनपिङलाई चिनियाँ उद्यमीहरूसँग सम्बन्ध सुधार्न आवश्यक परेको हुन सक्छ ।

‘प्रविधि क्षेत्रमाथिको निगरानीको अन्त्य भएको संकेत दिनुको साटो ज्याक माको पुनरागमनले बेइजिङ कडाइबाट नियन्त्रणमा आधारित सहभागितातर्फ सर्न खोजिरहेको देखाउँछ,’ अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीकी एसोसिएट प्रोफेसर मरीना झाङले बीबीसीसँग भनिन्,’निजी क्षेत्र चीनको आर्थिक महत्त्वाकांक्षाको लागि एउटा महत्त्वपूर्ण खम्बा रहिरहन्छ । तर यसले राष्ट्रिय प्राथमिकताहरूसँग मेल खानुपर्छ । जसमा प्रमुख प्रविधिहरूमा आत्मनिर्भरता र रणनीतिक उद्योगहरूको प्रवर्द्धन समावेश छ।’