निगमको टिकटमार्फत जापान एयरलाइन्सबाट संसारभर यात्रा गर्न सकिने

665
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको टिकटमार्फत जापान एयरलाइन्सबाट यात्रा गर्न सकिने गरि सम्झौता भएको छ । निगमबाट संसारभरीकै गन्तव्यको टिकट लिन सकिने र जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्धिपक्षीय सम्झौता भएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्धिपक्षीय आपसी सम्झौता इन्टरलाइन पार्टनरसीप एग्रिमेन्ट भएको छ । यो सम्झोता अनुसार नेपाल वायुसेवा निगमको सिधा उडान मार्फत् जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल सम्म निगमको जहाजले लैजाने छ । त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत् विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुनेछ ।

यो सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्य सम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ । सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरु सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने छन् ।

यो सम्झौता अनुसार निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास लिइएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको एके प्रेस विज्ञप्तिमार्फत उल्लेख छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समय देखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न भएको यस सम्झौता पश्चात नेपाल र जापान दुई देशका राष्ट्रिय ध्वजावाहक मार्फत् एकआपसमा व्यापार विस्तार हुने बताए ।

उनले यात्रु वर्गको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्य सम्म निगमकै टिकटमा विश्व स्तरिय सेवा प्रदान गर्न सकिने पनि उनको भनाइ छ । योसहित निगमसँग प्यासेन्जर इन्टरलाइन पार्टनरसीप एग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ ।

निगमसँग कार्गो पार्टरसीप सहमित गर्ने एयरलाइन्सको संख्या भने २८ रहेको छ । आगामी दिनमा निगमको जहाजको संख्या थपिएसँगै निगमको विश्वव्यापी संजाल अझै फैलिने विश्वास निगमले लिएको छ ।

यसबाट नेपाल र जापान बीचको आर्थिक एवं व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने र यात्रुहरुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने छ । जापानी पर्यटकहरुलाई पनि उच्च स्तरको सुविधा सहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरु बनाउन सहज हुने विश्वास गरिएको पनि निगमको भनाइ छ ।