पर्यटक लोभ्याउन ८ अन्तर्राष्ट्रिय महोत्सव हुने, बोर्डले छुट्यायो पौने ८ करोड

140
Shares


काठमाडौं । पर्यटक आकर्षित गर्न नेपाल पर्यटन बोर्डले आठवटा अन्तर्राष्ट्रिय मेला महोत्सवसहितको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उक्त कार्यक्रम गर्न ७ करोड ७० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

बोर्डले विनियोजन गरेको यस्तो बजेटका कार्यक्रम अन्तर्गत बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट (बीटीएम)को लागि १ करोड रुपैयाँ बिनियोजन गरेको छ । यो कार्यक्रम अन्तर्गत लुम्बिनीलाई बुद्धको जन्मस्थल र फाउन्टेन अफ पिसका रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाइने छ । यसका लागि बौद्धमार्गी स्रोत बजारका टुर अपरेटहरु र लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सँगको सहकार्यमा कार्यक्रम गर्ने भएको छ ।

बोर्डले विमस्टेक टुर एण्ड अपरेटर्स मिट गर्न ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका लागि विमस्टेकका सदस्य राष्ट्रका निश्चित संख्यामा टुर अपरेटर्स आमन्त्रित गरी कार्यक्रम गर्ने भएको छ ।

बोर्डले नाइस प्रोगामको लागि १ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नाइस कार्यक्रम आयोजकसँग सहकार्य गर्ने भएको छ । यसका लागि विदेशी सहभागिलाई आतिथ्य सत्कार र सोसल मिडियाबाट प्रवद्र्धन गर्न प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)सँग सहकार्य गर्ने भएको छ ।

बोर्डले नेपालमा हिमालयन ट्राभल मार्ट गर्न १ करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यसका लागि पर्यटन बोर्डले पाटा तथा स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

बोर्डले नेपालमा वल्र्ड समिटर्स समिट गर्न ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । यो रकम खर्चन बोर्डले नेपाल पर्वतारोहण संघ (एनएमए)सँगको सहकार्यमा कार्यक्रम आयोजना गर्ने बोर्डले जानकारी दिएको छ ।

सगरमाथा सम्मान कार्यक्रम गर्न बोर्डले २० लाख रुपैयाँको बजेट विनियोजन गरको छ । यो बजेटबाट पर्यटन क्षेत्रका विज्ञ आरोहीहरुलाई सगरमाथा सम्मान कार्यक्रममा आयोजकसँग सहकार्य गर्ने भएको छ ।

सगरमाथा हिमालको सरसफाइ गर्न २ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन भएको छ । यस्तो बजेटबाट हिमालको चौथो शिविरको सरसफाइ गर्ने भएको छ । स्थानीय तह तथा अन्य साझेदार संस्था (नेपाली सेना, एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल पर्वतारोहण संघसहितका सस्थासँग सहकार्य गर्ने पनि बोर्डले जानकारी दिएको छ ।

बोर्डले सफारी टुरिजम मार्ट गर्न ३५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । यस्तो खर्चबाट बोर्डले स्थानीय तह र पर्यटन सम्बद्ध संघसंस्थाहरुको सहकार्य र समन्वयमा कार्यक्रम आयोजना गर्ने भएको छ । बोर्डले यो सफारी टुरिजम मार्ट भरतपुरमा गर्ने गरी बजेट विनियोजन गरेको छ ।