
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा वाणिज्य बैंकहरुले निक्षेप २४२ अर्बले बढाउँदा कर्जा लगानी करिब २५६ अर्बले बढाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बजेटको लक्षित आर्थिक वृद्धिको लागि साढे १२ प्रतिशत कर्जा विस्तार हुने अपेक्षा गरेको थियो ।
निमार्णको सिजन र आर्थिक गतिविधि चलायमान हुनुपर्ने समयमा नै अपेक्षित रुपमा आर्थिक गतिविधि विस्तार हुनु नसक्दा सोही अनुपातमा कर्जा विस्तार हुन भने मुश्किल रहेको तथ्यांकले देखाउँछ । बैंकिङ क्षेत्रको समग्र कर्जा विस्तार सुस्त देखिएपनि केही बैंकले भने उचच कर्जा विस्तार गरेको देखिएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तमा आउँदा वाणिज्य बैंकको कर्जा ५.६२ प्रतिशतले विस्तार हुँदा निक्षेप ४.२१ प्रतिशतले मात्रै बढेको नेपाल बैंकर्स संघको तथ्यांक छ । २०८१ असार मसान्तमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ७० अर्ब ९१ करोड र निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड थियो । माघ मसान्तमा आउँदा कर्जा ४८ खर्ब २७ अर्ब ८५ करोड र निक्षेप ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको हो ।
पुसको तुलनामा मागमा वाणिज्य बैंकहको कर्जा १२ अर्ब र निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ । ३ बैंकले बढाएर १०२ अर्ब कर्जा, एभरेष्ट, एनएमबि र ग्लोबल एग्रेसिभ चालु आर्थिक वर्षमा एभरेष्ट, एनएमबि र ग्लोबल आईएमई बैंकले एग्रेसिभ कर्जा विस्तार गरेका छन् । आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंक्हरुले २५७ अर्बले कर्जा बढाउँदा यि ३ बैंकको मात्रै १०२ अर्ब छ ।
आर्थिक वर्षको ७ महिनामा नै एभरेष्ट बैंकको कर्जा १८.४० प्रतिशतले वृद्धि भएको छ । वाणिज्य बैंकहरुमा समग्र कर्जा विस्तार ५.६२ प्रतिशत मात्रै हुँदा एभरेष्टको भने बैकिङ क्षेत्रको औसत वृद्धिदरको तिनगुणा भन्दा धेरै छ । गत असार मसान्तमा १ खर्ब ८६ अर्ब ५० करोड रहेको बैंकको कर्जा लगानी माघ मसान्तमा आउँदा ३४.३२ अर्बले बढेर २ खर्ब २० अर्ब ८२ करोड पुगेको छ । सोही अवधिमा एनएमबि बैंकको कर्जा १३.४२ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांक छ ।
गत असार मसान्तमा २ खर्ब ४ अर्ब ६१ करोड रहेको बैंकको कुल कर्जा माघ मसान्तमा २७ अर्ब ४६ करोडले बढेर २ खर्ब ३२ अर्ब ७ करोड पुगेको छ ।
प्रतिशतमा एभरेष्ट र एनएमबि बैंक कर्जा विस्तारमा एग्रेसिभ देखिएपनि चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै कर्जा बढाउनेमा भने ग्लोबल आईएमई बैंक छ । बैंकको कुल कर्जा ७ महिनामा ४० अर्ब ५७ करोडले वृद्धि भएको छ । गत असार मसान्तमा ३ खर्ब ९० अर्ब ७७ करोड रहेको बैंकको कर्जा लगानी पुस मसान्तमा आउँदा ४ खर्ब ३१ अर्ब ३४ करोड पुगेको छ । ७ महिनामा बैंकको कर्जा विस्तार १०.३८ प्रतिशत छ । ग्लोबल आईएमई, एभरेष्ट र एनएमबिपछि नबिल बैंकको २३ अर्ब ४८ करोड, लक्ष्मी सन्राइज बैंकको २२ अर्ब ९८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब ६४ करोडले कर्जा विस्तर भएको छ । यस अवधिमा प्राइम कमर्सियल बैंकको कर्जा पनि ९.७९ प्रतिशत र माछापुच्छ्रे बैंकको कर्जा ९.५९ प्रतिशतले वृद्धि भएको छ ।
एनआईसी एशिया सहित ३ बैकको घट्यो व्यवसाय
चालु आर्थिक वर्ष लागेपछि केही बैंकले एग्रेसिभ व्यवसाय विस्तार गर्दा एनआईसी एशिया बैंकको भने कर्जा लगानी ११.५२ प्रतिशतले घटेको छ । गत असार मसान्तमा २ खर्ब ८५ अर्ब ३३ करोड रहेको बैंकको कर्जा माघ मासान्तमा आउँदा ३२ अर्ब ८८ करोड घटेर २ खर्ब ५२ अर्ब ४५ करोडमा झरेको छ । प्राथमिक पूँजीकोष्को समस्यामा रहेको बैंकले पूँजीकोष व्यवस्थापन गर्न व्यवसाय नै घटाएको छ । बैंकको व्यवसायमा साना तथा मझौला व्यवसाय कर्जाको हिस्सा धेरै रहेको र अर्थतन्त्रमा सुस्ततासँगै सोही क्षेत्रको कर्जामा समस्या देखिँदा बैंक ठुलो दबाबमा छ ।
यस अवधिमा प्रभु बैंकको कर्जा १ अर्ब ५८ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ३ अर्ब ७९ करोडले घटेको हो । गत असार मसान्तमा २ खर्ब ३५ अर्ब ९१ करोड रहेको प्रभु बैंकको कर्जा माघमा २ खर्ब ३४ अर्ब ३३ करोडमा झरेको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ८९ अर्ब ६६ करोडबाट घटेर ८५ अर्ब ८७ करोडमा झरेको छ ।

निक्षेप बढाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल र एभरेष्ट अगाडि
चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरुको निक्षेप २४२ अर्बले बढेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४० अर्ब ८७ करोड बढेको छ । गत असार मसान्तमा ४ अर्ब ६ अर्ब ८० करोड रहेको बैंकको निक्षेप माघ मसान्तमा आउँदा १० प्रतिशतले ४ खर्ब ४७ अर्ब ६७ करोड पुगेको छ । यस्तै एनएमबि बैंकको निक्षेप ३३ अर्ब ९३ करोडले वृद्धि भएको छ । गत असार मसान्तमा बैंकको कुल निक्षेप २ खर्ब २७ अर्ब १० करोड रहेकोमा माघ मसान्तमा आउँदा १४.९ प्रतिशतले बढेर २ खर्ब ६१ अर्ब ३ करोड पुगेको हो ।
प्रतिशतको आधारमा सबैभन्दा धेरै निक्षेप बढाउनेमा एनएमबिपछि एभरेष्ट बैंक छ । कर्जा बढाउनेमा पनि शिर्ष दुईमा रहेका यि बैंकको निक्षेप पनि धेरै बढ्नमा अगाडि छन् । नबिल बैंकको निक्षेप यस अवधिमा ३० अर्ब ७८ करोड र एभरेष्ट बैंकको २७ अर्ब ७२ करोडले निक्षेप बढेको हो । गत असार मसान्तमा नबिल बैंकको निक्षेप ४ खर्ब ६८ अर्ब ७६ करोड रहेकोमा माघ मसान्तमा आउँदा ६.५७ प्रतिशतले बढेर ४ खर्ब ९९ अर्ब ५४ करोड पुगेको हो । एभरेष्ट बैंकको निक्षेप गत असार मसान्तमा २ खर्ब ३३ अर्ब २९ करोड रहेकोमा माघ मसान्तमा अउँदा ११.९ प्रतिशतले बढेर २ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । यस्तै प्राइम बैंकको पनि निक्षेप १०८ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब ८१ करोड पुगेको छ । कर्जा घटेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप भने ९ अर्ब ६६ करोडले बढेर १ खर्ब २४ अर्ब १९ करोड पुगेको हो ।
केही बैंकले अर्थतन्त्रमा देखिएको सुस्तताबीच एग्रेसिभ व्यवसाय विस्तार गर्दा ३ बैंकको भने निक्षेप घटेको छ । पूँजीकोषको समस्याले गर्दा कर्जाको नै घटाएको एनआईसी एशिया बैकको निक्षेप पनि १६ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ३ खर्ब ६० अर्ब ५४ करोड रहेको बैंकको निक्षेप माघ मसान्तमा आउँदा ५८ अर्ब २२ करोडल घटेर ३ खर्ब २ अर्ब ३२ करोडमा झरेको हो । यस्तै कर्जा पनि सामान्य घटेको प्रभु बैंकको निक्षेप ३ अर्ब ७ करोडले घटेर ३ अर्ब ९ अर्ब ६ करोडमा झरेको हो । सिद्धार्थ बैंकको पनि निक्षेप १ अर्ब ६० करोडले घटेर २ खर्ब ४३ अर्ब ३० करोडमा झरेको छ ।

सीडी रेसियो ८० प्रतिशतभन्दा तलै
निक्षेपको तुलनामा कर्जा विस्तार उच्च भएपनि वाणिज्य बैंकहरुको औसत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) भने ८० प्रतिशतभन्दा पनि तल छ । नेपाल राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । अथात् सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म हुनेगरी कर्जा लगानी गर्न सक्छन् । तर, माघ मसान्तमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७९.३५ प्रतिशत रहेको नेपाल बैंकर्स संघको तथ्यांक छ ।
माघमा प्राइम कमर्सियल बैंकको सीडी रेसियो सबैभन्दा धेरै ८५.७७ प्रतिशत छ । सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत र एनएमबि बैंकको ८३.६२ प्रतिशत सीडी रेसियो छ ।
सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.९६ प्रतिशत मात्रै छ । त्यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको ६८.९७ प्रतिशत सीडी रेसियो छ ।

प्रतिक्रिया