ट्रम्पले ‘व्यापार युद्ध’ तीव्र पार्न लागेका हुन् ?

स्टील र आल्मुनियम आयातमा २५ प्रतिशत शुल्क


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा २५ प्रतिशत तथा अमेरिकी सामानमा शुल्क लगाउने देशहरूमा प्रतिशुल्क लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले आइतबार यस्तो घोषणा गर्दै अर्को दिन स्टील र आल्मुनियममा शुल्क लागू गर्ने र हप्ताभरभित्र प्रतिशुल्क लगाउने बताए । उनले कुन देशमा प्रतिशुल्क लागू हुने भन्ने स्पष्ट पारेनन् तर यो सबै देशमा लागू नहुने बताए ।

ट्रम्पले भने, ‘यदि उनीहरूले हामीलाई शुल्क लगाउँछन् भने हामी पनि उनीहरूलाई शुल्क लगाउँछौं । यदि उनीहरूले हामीलाई १३० प्रतिशत शुल्क लगाउँछन् भने हामीले उनीहरूलाई शुल्क लगाएनौं भने यस्तो हुँदैन ।’

अमेरिकी सरकार र अमेरिकन आइरन एन्ड स्टील इन्स्टिच्युटको तथ्याङ्कअनुसार, क्यानाडा अमेरिकामा स्टील आपूर्ति गर्ने शीर्ष देश हो भने ब्राजिल, मेक्सिको, दक्षिण कोरिया र भियतनाम पछि छन् ।

क्यानाडा अमेरिकामा आल्मुनियम निर्यात गर्ने पनि शीर्ष देश हो भने चीन, मेक्सिको र संयुक्त अरब इमिरेट्स अन्य प्रमुख आपूर्तिकर्ता हुन् ।

क्यानाडाा नवप्रवर्तन मन्त्री फ्रान्स्वा फिलिप च्याम्पेनले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भने, ‘क्यानाडियन स्टील र आल्मुनियमले अमेरिकाको रक्षा, जहाज निर्माण र अटो जस्ता प्रमुख उद्योगलाई सपोर्ट गर्छ। यसले उत्तर अमेरिकालाई अझ प्रतिस्पर्धी र सुरक्षित बनाउँदछ । क्यानाडा आफ्ना कामदार र उद्योगहरूको पक्षमा उभिरहनेछौं ।’

अष्ट्रेलियाई प्रधानमन्त्री एन्थनी अल्बानिसीले ट्रम्पसँग कुरा गर्ने र यो मुद्दा उठाउने बताए । उनले संसदमा भने, ‘हामी अमेरिकी प्रशासनसँग अष्ट्रेलियाको राष्ट्रिय हितको पक्ष राख्न जारी राख्नेछौं र यो अमेरिकाको राष्ट्रिय हितमा पनि छ किनभने शुल्कले हामीलाई कर लगाउँदैन, यसले हाम्रा उत्पादनहरूको क्रेतालाई कर लगाउँछ।’

संयुक्त राष्ट्र संघको व्यापार तथ्यांकअनुसार अष्ट्रेलियाले २०२३ मा अमेरिकालाई २३ करोड ७० लाख डलर मूल्यको स्टील र फलाम निर्यात गरेको थियो भने २०२४ मा २७ करोड ५० लाख डलर मूल्यको आल्मुनियम निर्यात गरेको थियो ।

अमेरिकामा स्टील आपूर्ति गर्ने शीर्ष १० देश (मार्च २०२४ – जनवरी २०२५)

क्यानाडा: ५.४७ मिलियन मेट्रिक टन
ब्राजिल: ३.७४ मिलियन मेट्रिक टन
मेक्सिको: २.९१ मिलियन मेट्रिक टन
दक्षिण कोरिया: २.४५ मिलियन मेट्रिक टन
भियतनाम: १.१४ मिलियन मेट्रिक टन
जापान: १.०२ मिलियन मेट्रिक टन
जर्मनी: ९६२,५७९ मेट्रिक टन
ताइवान: ८७३,३७० मेट्रिक टन
नेदरल्याण्ड्स: ५३०,७७३ मेट्रिक टन
चीन: ४८७,५४८ मेट्रिक टन

ट्रम्पको यो नयाँ शुल्क घोषणा गत महिना क्यानाडा र मेक्सिकोका सबै सामानमा २५ प्रतिशत र चीनका सामानमा १० प्रतिशत शुल्क लगाउने घोषणा पछि आएको हो । दुई देशले अमेरिकी सीमामा अनधिकृत मादक पदार्थ र अवैध आप्रवासीको प्रवाह रोक्न थप प्रयास गर्ने वाचा गरेपछि ट्रम्पले क्यानाडा र मेक्सिकोमा शुल्क लगाउने कदम स्थगित गरेका थिए । चीनले अमेरिकी निर्यातमा प्रतिशुल्क लगाएपछि ट्रम्पले चीनमा लगाएको शुल्क मंगलबारदेखि लागू भएको छ ।

ट्रम्पले यस महिनाको सुरुमा युरोपेली संघ (ईयू) पनि शुल्क लागू हुने अर्को देश हुन सक्ने संकेत दिएका थिए । ट्रम्पले ईयूले अमेरिकाबाट ‘लगभग केही पनि’ आयात गर्दैन भने अमेरिकाले ‘सबै कुरा’ आयात गर्ने दाबी गरे । ट्रम्पले फेब्रुअरी २ मा पत्रकारहरूलाई भने, ‘ईयू साँच्चै नियमबाट टाढा छ । उनीहरूले गरेको कुरा नराम्रो छ । मसँग टाइमटेबल छैन तर यो चाँडै आउँदैछ ।’

ट्रम्पको यो नयाँ टिप्पणीपछि एसियाको शेयर बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । जापानको निक्केई २२५ ०.१ प्रतिशतले झरेको छ भने हङकङको हाङ सेङ १.२ प्रतिशतले र चीनको एसएसइ कम्पोजिट ०.३ प्रतिशतले बढेको छ ।

अलजजिराबाट