
काठमाडौं । नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूह अन्तर्गत पर्ने वस्तुको गुणस्तर परीक्षणलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने भएको छ ।
हालसम्म भारतले पारस्परिक मान्यता नदिएका कारण नेपालबाट भारतमा निर्यात हुने विभिन्न खाद्य समूह अन्तर्गतका वस्तुको गुणस्तर परीक्षणका लागि भारतको विभिन्न सहर धाउनु पर्ने बाध्यता थियो ।
परीक्षणका लागि भारतको विभिन्न सहर धाउनु पर्दा एउटा नमूना परीक्षण गराउन कम्तिमा एक महिनाको समय खर्चिनुका साथै न्युनतम ५० हजार नेपाली रुपैयाँसम्म नेपाली व्यवसायीलाई खर्च गर्नुपर्ने बाध्यता छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशक संजिवकुमार कर्णका अनुसार नेपालले गर्ने परीक्षणलाई मान्यता दिन भारत सरकारबाट अब ‘नोटिफिकेसन’ मात्र जारी गर्न बाँकी छ ।
‘हामीले गर्ने परीक्षणलाई पारस्परिक मान्यता दिनका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण गृहकार्य सम्पन्न भइसकेको छ,’ महानिर्देशक कर्णले भने,‘अब भारतीय पक्षले नोटिफिकेसन गर्न मात्र बाँकी छ । यो हुने वित्तिकै १० खाद्य समूहअन्तर्गत पर्ने सम्पूर्ण खाद्य पदार्थको हामीले गर्ने परीक्षणलाई भारतले पनि मान्यता दिनुपर्छ । यो व्यवस्था सुरु भएपछि परीक्षणको लागि भारत जानुपर्ने बाध्यता सदाको लागि अन्त्य हुन्छ ।’
अहिले भारतमा चिया, कफी, अदुवा, अलैंची, मह, जुुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायतका पदार्थको परीक्षण गर्न भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्लीलगायतका स्थानमा धाउनुपर्ने अवस्था छ ।
नेपाल र भारतबीच पारस्परिक मान्यता सम्झौता (मिच्युअल रिक्गनाइज्ड अन्डरस्टाण्डिङ) भएपनि हालसम्म आवश्यक प्रक्रिया सम्पन्न नभएका कारण नेपालले गर्ने गुणस्तर परीक्षणसम्बन्धी रिर्पोटलाई भारतले पारस्परिक मान्यता दिएको छैन ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्युसी) र भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण (फुड सेफ्टी एण्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) बीच पारस्परिक मान्यता सम्झौता सन् २०१९ मा भएको थियो।
यो सम्झौतापछि केही प्राविधिक बिषयमा तयारी गर्नुपर्ने अवस्था भएपनि कोभिडका कारण करिब दुई वर्ष प्रक्रिया अघिबढ्न सकेको थिएन । कोभिडपछि आवश्यक प्रक्रिया सकिएपछि पारस्परिक मान्यता दिने बिषय अघि बढेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता मोहन महर्जनका अनुसार भारतको एफएसएसएआई र परीक्षण र क्यालिव्रेसन प्रयोगशालाहरुको लागि राष्ट्रिय मान्यता बोर्ड (नेशनल एक्रिडिएटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्यावोटोरिज-एनएबीएल) ले डीएफटीक्यूसीको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला(नेशनल फूड एण्ड फिड रेफरेन्स ल्यावोर्याट्री-एनएफएफआरएल) को संयुक्त रुपमा प्रयोगशाला परीक्षण मूल्याँकन सम्पन्न गरिसकेको छ ।
‘इन्टीग्रेटेड एसिसमेन्ट प्रक्रियामा हाम्रो प्रयोगशाला उतिर्ण भएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको पत्रसमेत पठाइसकेको छ,’ महर्जनले भने,‘भारतको एनएबीएल र एफएसएसएआईले १० वटा खाद्य समूहको हामीले गर्ने परीक्षणलाई पारस्परिक मान्यता दिन तयार रहेको भन्दै पत्र पठाएको छ । अब भारतको एफएसएसएआईले नेपालको यो प्रयोगशालाको बारेमा ‘नोटिफाई’ गर्न बाँकी छ ।’
भारतले पारस्परिक मान्यता दिने भनेको १० खाद्य पदार्थ समूहअन्तर्गत फ्याट्स एण्ड आयल, पु्रmट्स एण्ड भेजिटेबल, सिरियल्स प्रोडक्ट्स, टी एण्ड कफी, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लीमेन्ट्स पर्छन् ।
आईजीसी बैठकमा पनि ‘नोटिफाई’ गरिदिन आग्रह
महानिर्देशक कर्णका अनुसार अनुसार गत पुष २६ र २७ गते बसेको नेपाल– भारत वाणिज्य सचिबस्तरीय अन्तरसरकारी समिति(आईजीसी) को बैठकले १५ बुँदे सहमति गरेको थियो ।
यसमध्ये बुँदा नम्बर १२ अन्तर्गत नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरण (एफएसएसएआई) बीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता दिने बिषयमा पारस्परिक कार्य अघि बढाउने र क्षमता विकासमा सहयोग आदान प्रदान गर्ने बिषयमा छलफल भएर सहमति भएको थियो ।
उक्त बैठकमा नेपालको नेशनल फूड एण्ड फिड रेफरेन्स ल्यावोरेट्री( एनएफएफआरएल) ले भारतको एफएसएसआईएबाट मान्यता प्राप्त गरिसकेकाले यो प्रयोगशालाले गर्ने कृषि उपज र खाद्य पदार्थसम्बन्धी परीक्षणलाई पारस्परिक मान्यतासम्बन्धी ‘नोटिफाई’ गरिदिन भारतीय पक्षलाई आग्रह गरेको थियो ।
‘हाम्रो प्रयोगशालाले कृषि उपज र खाद्य पदार्थसम्बन्धी परीक्षणलाई भारतीयसम्बन्धित निकायले पारस्परिक मान्यतासम्बन्धी नोटिफाई गरिदिनुपर्ने भनेर बैठकमा एजेण्डाको रुपमा अघि सारेका थियौं,’ कर्णले भने,‘भारतीय पक्षले यो बिषयमा गहन छलफल पश्चात आवश्यक प्रक्रिया पूरा गरी चाँडै नै यो व्यवस्था अघि बढाउने सहमति जनाएको थियो ।’
उनका अनुसार भारतले चाँडै नै आफ्ना भन्सार विन्दु र सरोकारवाला निकायको नाममा योसम्बन्धि नोटिफिकेसन(सूचना जारी) गर्ने सहमति गरेको थियो ।
‘आशा गरौं, चाँडै नै यो नोटिफिकेसन आउँछ, यो नोटिफिकेसन हुने वित्तिकै नेपालबाट निर्यात हुने चियालगायतका कृषि उपजमा पाइने बिषादीसहित अन्य प्रकारको परीक्षणको लागि भारतको कोलकात्तालगायत अन्य स्थानमा कुद्ने बाध्यता समाप्त हुनेछ,’ कर्णले भने,‘नेपालकै नेशनल फूड एण्ड फिड रेफरेन्स ल्यावोरेट्रीले गर्ने परीक्षण र त्यसको रिर्पोटको आधारमा सहज रुपमा भारत निर्यात गर्न पाइनेछ ।’
यो सुविधा उपलब्ध भएपछि भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणिकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच (लट) नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुनेछ।
आईजीसी यो छलफलमा भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयको सचिब सुनिल बर्थवाल र नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिब गोविन्दबहादुर कार्कीले नेतृत्व गरेका थिए ।
के भन्छन् नेपाली किसान र व्यवसायी ?
आईजीसी बैठकअनुसार नोटिफाई गर्ने प्रक्रिया अघि बढिरहँदा अर्कोतर्फ भारतको चिया बोर्डले नेपाली चियाको हकमा ४० प्रतिशत भन्सार शुल्कसहित अक्सन मार्केटको व्यवस्था गर्ने तयारीमा जुटेको छ । यस्तै उक्त बोर्डको प्रयोगशालामा मात्रै परीक्षण गराउनु पर्ने बाध्यतात्मक व्यवस्था गर्न लागेको छ ।
हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एशोसिएसन (होट्पा) का उपाध्यक्ष उदय चापागाईले नेपालमा चियाको गुणस्तरसम्बन्धि परीक्षण नहुँदा चिया उद्यमीले कष्टकर समस्या भोग्दै आएको जानकारी दिए ।
चापागाईका अनुसार अहिले चिया उद्यमीलाई लटअनुसार चियाको नमूना बोकेर परीक्षणको लागि भारतको कोलकात्तास्थित सेन्ट्रल फूड ल्यावोर्याट्री (सीएफएल) मा जानुपर्ने बाध्यता छ ।
चियाको एउटा नमूना लिएर कोलकाता जाँदा र परीक्षणको प्रतिवेदन आउन कम्तिमा १ महिनाको अवधी लाग्नुका साथै प्रति नमूना करिब ११ हजार भारतीय रुपैयाँ खर्च लाग्दै आएको उनले बताए ।
नमूना परीक्षणको प्रमाणपत्र नआउँदासम्म दुई सातासम्म सीमामै चियासहितको ट्रक रोक्नुपर्ने बाध्यता भएको उनले जानकारी दिए ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार एउटा नमूना परीक्षण गराउन २० हजार नेपाली रुपैयाँ खर्च हुन्छ ।
उनले क्लिकमान्डुसँग भने, ‘हाम्रो सरकारले उसको बस्तु परीक्षणबिना भित्र्याउन अनुमति दिने, तर हाम्रो वस्तु परीक्षण नगरी निर्यात गर्न नदिने । यस्तो पनि असमान व्यवहार हुन्छ ?’
साना किसान चिया उत्पादक सहकारी संस्था लिमिटेड झापाका अध्यक्ष हर्क तामाङका अनुसार पहिले थोरै खर्चमा एउटा नमूना परीक्षण गराउँदा त्यसको आधारमा ६ महिनासम्म भारतमा निर्यात गर्न पाइन्थ्यो।
‘तर पछिल्लो केहि समयदेखि प्रत्येक लटको नमूना एफएसएसएआईबाट मान्यता प्राप्त कोलकात्ताको ल्यावोर्याट्रीमा परीक्षणको लागि पठाउनु पर्छ,’ तामाङले भने,‘यो व्यवस्थाले हामीलाई लागत खर्च मात्रै होइन, खर्च पनि निक्कै बढेको छ ।’
उनका अनुसार अहिले सीटीसी चियाको एउटा नमूना परीक्षण गराउन करिब २५ हजार भारतीय रुपैयाँ खर्च पर्छ । परीक्षणको रिर्पोट आउन डेढ महिना कुर्नुपर्छ ।
‘परीक्षण गराउन कम्तिमा ३५ किलो चिया भएको ५ बोरा भन्सार एजेण्टलाई बुझाउनु पर्छ,’ तामाङले भने,‘परीक्षणमा उतिर्ण हुँदा वा अनुतिर्ण हुँदा पनि उक्त ५ बोराको कुनै रकम किसानले पाउँदैनन् ।’
उनका अनुसार परीक्षणमा उतिर्ण हुँदा उक्त ५ बोरा खरिदकर्ताले लगेको भन्सार एजेन्टले चिया उत्पादकलाई जानकारी दिन्छन् । परीक्षणमा उतिर्ण हुँदा त्यो ५ बोरा चिया उतै हराउछ । अर्थात किसानले फिर्ता पाउँदैनन् ।
एक बोरामा न्युनतम ८ हजारको दरले ५ बोरामा ३५ हजार नेपाली रुपैयाँबराबरको चिया हुन्छ । यसरी हेर्दा नेपाली किसान चिया परीक्षणको नाममा पनि ठगिदै आएका छन् । परीक्षणको नाममा चिया पनि हराउने रकम पनि नपाईने समस्या नेपाली किसानले व्यहोर्दैआएका छन् ।
कति हुन्छ भारतमा निर्यात ?
भारतमा बर्षेनि ३ देखि ४ अर्ब रुपैयाँबराबरको नेपालबाट चियाको निर्यात हुन्छ । तर पछिल्लो समयमा चालु आर्थिक वर्षको ६ महिनामै २ अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको १ करोड १० लाख १३ हजार चिया चिया निर्यात भएको छ ।
पछिल्लो ५ वर्षको अवधीमा ६ महिनामै यो सबैभन्दा बढी परिमाणमा भारतर्फ चिया निर्यात भएको हो ।
गत आर्थिक वर्षमा यस्तै ५० करोड रुपैयाँबराबरको स्याउको जुस, ७ अर्ब ९३ करोड रुपैयाँबराबरको अलैंची, १ करोड २६ लाखको बटर, २० करोड रुपैयाँबराबरको दालचिनी, डेढ अर्ब रुपैयाँ बराबरको अदुवा निर्यात गरेको छ ।
१ अर्ब २० करोडको सुन्तलाको जुस, ५५ लाख रुपैयाँबराबरको घिउ, १ करोड ४० लाखको आँप तथा अम्बा, ६ अर्ब १८ करोडको मिक्स जुस, १ करोड ६२ लाखको चीज, २ करोड ५९ लाखको डेरीजन्य उत्पादन, १० करोडको सोयाविन आयल, १६ करोडको सनफ्लावर आयल र साढे ६ अर्ब रुपैयाँको पाम आयल निर्यात भएको थियो ।
प्रतिक्रिया