मध्यपूर्व तनावको पाँचौ दिन

नेपालमा १५० वटासम्म अन्तर्राष्ट्रिय उडान रद्दः सिजनमै पर्यटन प्रभावित, कामदारलाई सकस

56
Shares

काठमाडौं । मध्यपूर्वको एयर स्पेस (हवाई उडान) शनिबारदेखि बन्द हुँदा पाँचौ पनि खाडी क्षेत्रको हवाई उडान हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारका लागि जम्मा ५९ वटा उडानको तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाडौंबाट हुने ३० उडान र अवतरण २९ वटाको मात्रै तालिका सार्वजनिक गरेको छ ।

यस्तो उडान कम्तिमा ८० वटा हुने गरेको थियो । विमानस्थल कार्यालयका अनुसार शनिबारदेखि बढेको मध्यपूर्वको तनावका कारण दैनिक औषतमा ३० वटा उडान रद्द भइरहेका छ ।

यस्तो उडानमा काठमाडौंबाट जाने नेपाल एयरलाइन्स र हिमालय एयरसहित नेपाल आएर फर्कने अरु खाडी क्षेत्रका वायुसेवा रहेका छन् । मध्यपूर्वकाे पनि दुबइ र कतार अन्तर्राष्ट्रय हब भएका र यी क्षेत्रमा परेको प्रभावले नेपालसहित अन्य देशलाई पनि असर परेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए ।

अमेरिकी र इजरायली आक्रमणको कारण बढेको तनावले कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेवनान र बहराइनको एयर स्पेस बन्द छ । यी मुलुकमध्ये सबैबभन्दा बढी नेपालमा समेत उडान हुने दुवाइ र कतारका वायुसेवाका सबै उडान स्थगित छन । यी दुई मुलुकका मात्रै नेपालमा दैनिक १६ वटासम्म उडान हुने गरेको थियो ।

शनिबारदेखि मंगलबारसम्ममा मात्रै खाडी मुलुकबाट हुने २१ हजार उडान प्रभावित भइसकेको र यसबाट १५ लाख हवाई यात्रु प्रभावित भएको तथ्यांक फ्लाइट राडारले सार्वजनिक गरेको छ । यो तथ्यांकले कोभिड महामारीको भन्दा धेरै हवाई यात्रु प्रभावित पछिल्लो चार दिनमा भएको देखाएको छ ।

नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । नेपालको पर्वतारोहणको लागि प्रमुख सिजन मार्चदेखि मेसम्मको लागि मानिन्छ । यी सिजनको मुखैमा भएको अन्तर्राष्ट्रिय हवाई उडान प्रभावितको असर पर्यटनमा पनि पर्न सक्ने चिन्ता पर्यटन व्यवसायीले गर्न थालेका छन ।

नेपालमा लामो दूरीका गन्तव्यबाट आउने पर्यटकको प्रमुख हब नै मध्यपूर्व मानिन्छ । यो क्षेत्रको हवाई उडान हप्ता १० दिनसम्ममा पनि सहज नभए नेपालको पर्यटनमा गम्भिर असर देखिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य समेत रहेका थपलियाका अनुसार अहिले नेपालमा पर्यटनको सिजन सुरु भएको छ । यही बेला मध्यपूर्वको हवाई उडान प्रभावित भएको देखिदा नेपालीसहित विदेशी पर्यटकसम्म प्रभावित भएका छन् ।
थपलिका अनुसार छोटो समयमा समस्याको समाधान भए पर्ख र हेरको अवस्थामा रहेका पर्यटक आउन पनि सक्छन्, अन्यथा बुकिङ रद्द गर्ने, गन्तव्य परिवर्तनसम्मको असर तत्कालै परिहाल्ने हुन्छ ।

अब नेपालमा पर्वतारोहणको लागि यूरोप अमेरिकाबाट पर्यटक आउने बेला हो । यही बेला उनीहरु आउने बाटो नै अवरुद्ध हुनु भनेको हाम्रो पर्यटनमा ठूलो मार पर्ने बुझाई पनि थपलियाको छ ।

खाडी मुलुकमा दैनिक ३० वटासम्म उडान हुन नसक्दा नेपालबाट बाहिर र नेपाल भित्रने अरु विदेशी वायुसेवामा यात्रु चाप बढेको छ । जसका कारण हवाई भाडा समेत बढ्न थालेको पनि पर्यटन व्यवसायीले बताएका छन ।

अहिलेको संकटको बेला सरकारले टर्किस एयरलाइन्सलाई उडान थप गर्न लगाउनुपर्ने, नेपाल वायुसेवाकै भारत उडान बढाउनुपर्ने समय पनि भएको बुझाई थपलियाको छ । उनले भने उसै त सिजनको बेला अन्तर्राष्ट्रिय उडानका वायुसेवाको टिकट नपाइने समस्या छ त्यसमा पनि अरु वायुसेवाको उडान कम हुँदा उडान गरिरहेकाले पनि चर्को भाडा लिने अवस्था सिर्जना भइसकेको छ ।

अहिले मध्यपूर्वमा भएको हवाई सम्पर्कको अभावले नेपाली कामदारलाई मार परेको छ । नेपालबाट जाने त यतै रोकिएका छन्, उडान नखुलेसम्म जाँदैनन्, तर उताबाट फर्कनुपर्ने, फर्किएका यात्रु अलपत्र पर्ने र खानबस्नको व्यवस्थाप मिलाउन थप सकस हुने हुन थालेको छ ।

दैनिक ३० वटा उडानबाट एक हजार भन्दा बढी यात्रु प्रभावित हुँदाको असर आन्तरिक वायुसेवालाई पनि पर्ने भएको छ । विदेशी कम आउँदा र नेपालीको मुमेन्ट कम हुँदा आन्तरिक वायुसेवाको अकुपेन्सी समेत न्यून हुँदै गइरहेको पनि सम्बन्धित वायुसेवाले जानकारी दिएका छन् ।