
काठमाडौं । भारतले नेपाली चियाको अनिवार्य रुपमा लिलामी सुरु गर्ने प्रक्रिया अघि बढाउन लागेको छ ।
भारतको चिया बोर्डले लिलामी अघि र पछिको प्रक्रियाका साथै नेपालबाट भारतमा निर्यात हुने चियाको प्रवेश विन्दुदेखि वितरणसम्मको विषयमा कडाइ गर्न नयाँ नीति ल्याउने गृहकार्य सुरु गरेको हो ।
बोर्डले चिया उद्योगी, बिक्रेता, उत्पादक, प्रशोधनकर्ता, निर्यातकर्ता लगायतसँग ‘लिलामी’ नीतिप्रति राय सुझाव उपलब्ध गराउन आह्वानसमेत गरेको छ ।
बोर्डले भारतमा उत्पादन हुने चियाको बजार सुरक्षित गर्नका लागि यो नीति ल्याउने गृहकार्य गरेको हो ।
नेपाल चिया एशोसिएसनका अध्यक्ष कमल मैनालीका अनुसार दार्जिलिङ चिया उद्योगले नेपालबाट भारतमा निर्यात हुने चिया गुणस्तरहीन भएको भन्दै दसकौंदेखि आरोप लगाउँदै आएको छ । केहि समयअघि मात्रै भारतीय चिया संघले दार्जिलिङ चियाको हकमा केन्द्र र बंगाल सरकारसँग तत्कालै हस्तक्षेप गर्न माग गर्दै स्वेत पत्रसमेत बुझाएको थियो ।
तर, भारत हालसम्म भू-राजनीतिक कारणले नेपालको चियाको ओहोर दोहोर नियन्त्रण गर्न हच्किँदै आएको छ ।
मैनालीका अनुसार जब नेपालमा चियाको नयाँ उत्पादन बजारमा आउनै लाग्छ, तब नियतवशः भारतीय पक्षबाट कुनै न कुनै बहाना झिकेर निर्यात प्रक्रियामा अवरोध सिर्जना गरिन्छ ।
यस्तै अवस्था फेरि सिर्जना हुन लागेको छ, नेपाली चियाको हकमा । आगामी चैतदेखि स्वदेशी चियाको नयाँ उत्पादन बजारमा आउन लागेको छ ।
यहि बेला भारतले नेपाली चियाको बजार हिस्सा खोस्न नयाँ नीति ल्याउने प्रक्रिया पनि सुरु गरेको हो ।
नेपाली चिया उत्पादक र उद्योगीहरुका अनुसार भारतले नेपाली चियाको आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाउने वा अक्सन मार्केट (लिलामी बजार) मार्फत लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।
सिक्किमका पूर्वराज्यसभा सांसद शान्ता क्षेत्रीले नेपालबाट निर्यात हुने चियाका कारण भारतीय चियाको बजारलाई ठूलो असर पुर्याइएको दाबी गर्दै हालै भारतीय वाणिज्य मन्त्री पियुष गोयललाई पत्र लेखेकी थिइन् ।
नेपाल-भारत व्यापार सन्धीअनुसार घरेलु चियालाई सुरक्षा प्रदान गर्नका लागि कि अक्सन मार्केट कि त चियाको आयातमा भन्सार शुलक ४० प्रतिशत लगाउनुपर्ने माग राख्दै वाणिज्यमन्त्री गोयललाई उनले पत्राचार गरेकी थिइन् ।
क्षेत्रीले भारतीय चियाको बजार सुरक्षित बनाउन नेपाल-भारत व्यापार सन्धीको क्लज नम्बर ९ अनुसार व्यवस्था गर्नुपर्ने सुझाव मन्त्री गोयललाई दिएकी थिइन् ।
यसका साथै उनले नेपाली चियाको एक किलोको प्याकेजिङ गरिएको प्याकेटलाई मात्रै आयातको लागि अनुमति दिनुपर्ने सुझाव दिएकी छन् ।
‘नेपाली चियाको हकमा ४० प्रतिशत भन्सार शुल्कसहित आवश्यक सम्पूर्ण प्रक्रियाका साथै कडाइका साथ गुणस्तर परीक्षण हुनुपर्छ,’ वाणिज्यमन्त्री गोयललाई लेखिएको पत्रमा उनले उल्लेख गरेकी छन,‘यसबाहेक नेपाली चियाको हकमा अनिवार्य रुपमा अक्सन मार्केटबाट लिलामीको व्यवस्था पनि गर्नुपर्छ ।’
क्षेत्रीले सन् २०२३ देखि थप सात वर्षको लागि नवीकरण भएको सन्धीको प्रोटोकलमा भारतीय उत्पादनको हकमा सुरक्षाको व्यवस्था गरिएको बताएकी छन् ।
‘सन्धिअन्तर्गत उक्त धारासँग सम्बन्धित स्वदेशी उद्योगलाई गम्भिर नोक्सानी पुर्याउने गरी वा त्यस्तो परिमाणमा आयात भएका सुरक्षाका उपाय अवलम्बन गर्न सकिन्छ,’ उनले भनेकी छन् ।
उनले भारतले नेपाली चियालाई भन्सारमुक्त प्रवेशको अनुमति दिएको छ । तर भारतबाट नेपालमा निर्यात हुने चियामा नेपालले भन्सार शुल्क ४० प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लगाएको औंल्याएकी छन् ।
नेपाल भित्रिने भारतीय चियामा ४० प्रतिशत भन्सार लागे पनि २००९ को द्विपक्षीय स्वतन्त्र व्यापार सन्धि अन्तर्गत नेपाली चियाले भारतीय बजारमा शुल्क मुक्त पहुँच पाउँदै आएको छ ।
क्षेत्रीको पत्राचारका कारण भारतको केन्द्रीय सरकार पनि नेपाली चियाको बजार हिस्सा साँघुरो बनाउन आवश्यक गृहकार्यमा जुटेको छ ।
भारतीय चिया संघ (आईटीए) ले हालै जारी गरेको स्वेतपत्रअनुसार सन् २०२३ मा नेपालबाट १ करोड ३६ लाख किलो चिया आयात भएको थियो ।
त्यसमध्ये भारतको दार्जिलिङ चियासँग प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली अर्थोडक्स चियाको हिस्सा कम्तिमा ६० लाख किलो हुने उल्लेख गरिएको छ । संघले नेपाली चियाको गुणस्तर राम्रो नभएको दाबीसमेत गरेको छ ।
दार्जिलिङस्थित रिङ्टङ चिया बगानका सञ्चालक सञ्जय चौधरीले नेपाली चियालाई ‘घटिया’ सम्म भनेर सम्बोधन गरेका छन् ।
‘भारत सरकारले नेपाली चियाको हकमा नीतिगत नयाँ व्यवस्था कार्यान्वयनमा नल्याए दुई लाख कर्मचारी र रोजगारदाता चिया कम्पनी अदालत जान बाध्य हुन्छौं,’ भारतीय अंग्रेजी दैनिक पत्रिका द टेलिग्राफसँग कुरा गर्दै चौधरीले भनेका छन्, ‘नेपालले प्रिमियम चियाको नाममा घटिया चिया बिक्री गरेर भारतीय चियाको बजार प्रभावित गर्दै आएको छ । सरकारले तत्कालै नीति ल्याएर यसलाई रोक्न आवश्यक छ ।’
एशोसिएसनका अध्यक्ष मैनालीले भारतीय पूर्वसांसद क्षेत्रीले माग गरेअनुसार त्यहाँको सरकारले नीतिगत व्यवस्था गरे नेपाली चिया भारतमा निर्यात गर्न ठूलो समस्या आइपर्ने जानकारी दिए ।
‘क्षेत्रीले ४० प्रतिशत भन्सार शुल्क लगाउनुपर्ने माग अघि सारेकी छन्,’ मैनालीले भने, ‘त्यो अनुसार ५ प्रतिशतमात्रै भन्सार शुल्क लगाइयो भने नेपालका सम्पूर्ण चिया उद्योग धराशायी हुन्छन् । झन् ४० प्रतिशत गरियो भने के अवस्था आउँला आफैं विचार गर्नुस् ।’
उनका अनुसार जतिवेला नेपाली बगानबाट नयाँ चियाको उत्पादन बजार आउने सिजन सुरु हुन लाग्छ, त्यहि बेला भारतीय पक्षबाट कुनै न कुनै अवरोध सिर्जना हुँदै आएको छ ।
यहि क्रममा पछिल्लो समयमा यो नौलो प्रकारको अभ्यास भारतीय पक्षबाट हुन लागेको मैनालीले जानकारी दिए ।
‘भन्सार शुल्कबाहेक आवश्यक प्रक्रिया पूरा गरेर अक्सन मार्केट अवधारणा अन्तर्गत भारतीय बजारमा नेपाली वायरलाई प्रवेश दियो भने अहिलेको तुलनामा नेपाली चियालाई बढी फाइदा हुन सक्छ,’ उनले भने।
उनका अनुसार नेपालबाट भारतमा वार्षिक १ करोड २० लाख किलो सीटीसी र ५० लाख किलो अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । नेपालमा उत्पादन हुने कूल चियाको परिमाणमध्ये झण्डै ८० प्रतिशत परिमाणमा भारतमा निर्यात हुन्छ । यसमध्ये ५० प्रतिशत हिस्सा सीटीसी चियाले ओगटेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागि परेको बताए ।
भारतीय बजार गुम्दा नेपालको चिया उद्योग धराशायी हुने बताउँदै उनले यो क्षेत्रमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चेतावनी दिए ।
उनका अनुसार भारतमा चियाको उत्पादन कम हुँदा जति पनि मूल्य दिएर खोसाखोस गरी लैजान्छन् । त्यहाँको घरेलु बजारमा उत्पादन निक्कै बढी हुँदा नेपाली चिया गुणस्तरहीनलगायतका विभिन्न अभियोग लगाएर भारतले निर्यात प्रक्रिया प्रभावित गर्दैआएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा नेपालले आधा दर्जन मुलुकमा ३ अर्ब २० करोड २५ लाख रुपैयाँबराबरको विभिन्न प्रकारको चिया निर्यात गरेको थियो ।
यसमध्य भारततर्फ मात्रै २ अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको विभिन्न प्रकारको १ करोड १० लाख १३ हजार किलो चिया निर्यात भएको छ ।
अक्सन मार्केट राम्रो, तर नियत खराब
मैनालीले नेपाली चियालाई ध्यानमा राखेर भारतले ल्याउन खोजेको अक्सन मार्केट नीति राम्रो भए पनि कुन नियतका साथ ल्याउन लागिएको हो, त्यो विषय शंकास्पद भएको बताए ।
हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एशोसिएसन (होट्पा) का उपाध्यक्ष उदय चापागाईले पनि चियाको गुणस्तरको उत्कृष्टताको आधारमा अत्यधिक मूल्य र बजार उपलब्ध हुने उद्देश्यका साथ अक्सन मार्केट सञ्चालन आउँदा नेपाली चियालाई पनि अति उत्तम हुने जानकारी दिए ।
‘तर नेपाली चियाको बजार नै ध्वस्त बनाउने उद्देश्यका साथ नीति ल्याइयो भने त्यसले हाम्रो बजार गुम्ने जोखिम हुन्छ, अक्सन बजारमार्फत गुणस्तरीय चियाले राम्रो मूल्य पाउने सम्भावना पनि त्यतिकै छ,’ चापागाईले भने, ‘यसो भनिरहँदा हामी हाम्रो चियाको गुणस्तर सुधारको सबालमा पनि गम्भीर हुन आवश्यक छ ।’
भारतले चियाको हकमा ल्याउन लागेको अक्सन मार्केट नीति बाहिरीरुपमा हेर्दा राम्रो देखिए पनि नेपाली चियालाई प्रतिस्पर्धामा सहभागी हुन भने निक्कै कठिनाइ हुने चापागाईको भनाइ छ ।
‘अक्सन बजारमा सहभागी हुन त विभिन्न चरणको प्रक्रियाहरु पार त गर्नु पर्ला नि, के हाम्रो सरकार यो प्रक्रियाहरुको लागि तयार छ त ?,’ चापागाईले भने, ‘यो विषयले पनि नेपाली उत्पादक, बिक्रेता र उद्योगीलाई चिन्तित बनाएको छ ।’
उनका अनुसार नेपाली चिया भारतको अक्सन बजारसम्म पुर्याउन कोलकात्तामा भण्डारण गर्ने गोदाम चाहिन्छ । त्यसपछि चियाको नमूना संकलन गर्नु पर्यो, परीक्षणको क्रममा नमूना उतिर्ण भएपछि अक्सन बजारसम्म लानु पर्ने लगायतका बिषयमा नेपाल सरकारको तर्फबाट कुनै तयारी भएको छैन ।
नेपाल र भारतबीच करिब ११ खर्ब रुपैयाँको वैदशिक व्यापार छ । तर नेपालबाट २ अर्ब रुपैयाँको चिया पनि भारत जाँदैन । भारतले वार्षिक १ अर्ब ४० करोड किलो चिया उत्पादन गर्छ । उनीहरुको चियाको बजारमा नेपालबाट निर्यात भएको चियाको हिस्सा १ प्रतिशतमात्रै रहेको चापागाईले जानकारी दिए ।
दार्जिलिङ चिया पुरानो भएर कम गुणस्तर
नेपालमा उत्पादन हुने चियाको तुलनामा भारतमा उत्पादन हुने चिया निक्कै पुरानो छ । चियाको बोट जति पुरानो हुन्छ, उत्पादन भएको चिया पनि त्यतिकै गुणस्तरहीन हुँदै जान्छ ।
भारतमा बृटिसकाल अर्थात दुई वर्ष पहिले चिया खेतीको सुरुआत भएको थियो । नेपालमा भने २०२१ सालमा झापामा बुधकरण टि स्टेट स्थापना भएपछि चियाको सुरुआत भएको मानिन्छ । नेपालको चियाको इतिहास ३०-३५ वर्ष पुरानो मात्रै हो ।
नेपालको झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए ।
सोझो भाषामा भन्दा भारतीय चिया वगानको रुख विरुवाको तुलनामा नेपालको चियाको बोट निक्कै यङ (तन्नेरी) छ । यस्ता तन्नेरी बोटबाट उत्पादन भएको चियापत्ति पनि निक्कै गुणस्तरीय हुन्छन् । तर प्रदूषित माटो र विषादी प्रयोग नभएको अवस्थामा। नेपालको पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स र तराईका जिल्लामा उत्पादन हुने सिटीसी चिया निर्यात हुन्छ ।
अर्थोडक्स कालो चियाको रुपमा र सीटीसी दूधसँग समिश्रण गरी पिउने गरिन्छ ।
भारतीय सञ्चारमाध्यमहरुले आफैं पनि भारतको चिया वगानमा रोपिएका बोट निक्कै पुरानो हुँदा उत्पादन घट्नुका साथै गुणस्तरहीन उत्पादन भएको र पछिल्लो समयमा जलवायु परिवर्तनका कारण चिया उत्पादनमा ठूलो प्रभाव पारेको औल्याउँदै आएको छ ।
प्रतिकूल मौसम, जलवायु परिवर्तन, तन्नेरी चिया बोटको अभाव र बगानमा कामदारको अनुपस्थितिका कारण सन् २०२४ मा दार्जिलिङमा मात्रै ६० लाख किलो कम परिमाणमा चिया उत्पादन भएको छ ।
के भारतले भनेजस्तै नेपाली चिया ‘गुणस्तरहीन’ हो त ?
भारतले नेपाली चियाको गुणस्तरमाथि पटक पटक गुणस्तरहीन भएको अभियोग लगाउँदै निर्यात प्रक्रियामा अवरोध सिर्जना गर्दैआएको नौलो होइन, भारतको यो नीति दशकौंदेखि दोहेरिँदै आएको छ ।
‘हाम्रो चिया गुणस्तरहीन नै भएको भए पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कसरी उत्कृष्ट एवार्डहरु प्राप्त गर्न सक्थ्यो ?,’ पराजुली भन्छन्, ‘त्यस्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा त भारतसहित विश्वभरका उत्पादक मुलुकहरु सहभागी भएका थिए। तर त्यसमध्ये उत्कृष्ट चियाको उपाधि नेपालीले कसरी प्राप्त गर्न सफल भयो ? यो विषयलाई नेपालले विश्व बजारलाई बुझाउन आवश्यक भइसकेको छ ।’
हुन पनि हो, भारतले नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाइरहँदा गत वैशाखमा नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको थियो ।
अमेरिकाको लस भेगासमा सम्पन्न भएको वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाएको इलामको सिद्धदेवी टी स्टेटले उत्कृष्टताको आधारमा ‘ग्राण्ड च्याम्पियन’ को उपाधि प्राप्त गरेको थियो।
यो बाहेक यो कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट व्हाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको थियो । यो प्रतिस्पर्धामा सहभागी हुन उद्योगीले आफ्नै खर्चमा सहभागिता जनाएका थिए ।
यसैगरी २०७९ फागुनमा चीनको चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिस्पर्धामा समेत नेपाली १० चिया उत्पादक संस्थाले उत्पादन गरेको १० प्रकारका चिया विश्व गुणस्तरमा उच्च रहेको भन्दै ति १० वटै संस्थाले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।
विश्वका प्रमुख चिया उत्पादक मुलुकहरु चीन, भारत, केन्या, श्रीलंकाजस्ता मुलुकसँग नेपालको चियाको प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिक्रिया