काठमाडौं । जापानको नारिता विमानस्थलमा पांग्रा पड्किएर अलपत्र परेको नेपाल वायुसेवा निगमको जहाज उडाउने तयारी भएको छ ।
वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले पांग्राको व्यवस्थापन भएकाले अब पड्किएको टायर निकालेर नयाँ राखेपछि विमानले उडान भर्ने बताए । ‘दिनभरको प्रयासपछि जहाजको पांग्राको व्यवस्थापन भएको छ । अब परिवर्तन गरेर जहाज उडाउने तयारी भइरहेको छ,’ उनले भने ।
निगमकाअनुसार आज विहानैदेखि जापानमा रहेका चालक दलका सदस्यले नै त्यो जहाज उडाएर काठमाडौं ल्याउने छन् । विमानको टायर पड्किएपछि उक्त जहाजका यात्रुलाई निगमले होटलमा लगेर राखेको थियो भने उडानसमेत रद्द भएको थियो ।
उक्त जहाजमा २६२ यात्रु रहेका छन् । सोमबार दिउँसो साढे २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुपर्ने निगमको वाइडबडी जहाजको पांग्रा पार्किङबाट ट्याक्सी वेतर्फ आउँदै गर्दा पड्किएको थियो ।
विमानमा अतिरिक्त टायर नभएकाले काठमाडौंबाटै पठाउने वा उतै खोज्ने भन्नेमा निर्णय गर्न निगमलाई समय लाग्दा झण्डै १२ घण्टादेखि यात्रु जापानमै अलपत्र परेका हुन् ।
प्रतिक्रिया