विश्व व्यवस्था अमेरिकी एकध्रुवीयताबाट क्रमिक रूपमा बहुध्रुवीयतातर्फ अग्रसर हुँदै गर्दा अहिले द्विध्रुवीय चरित्र देखिन थालेको छ । एउटा ध्रुवमा अमेरिका छ भने अर्को ध्रुवमा चीन । यी दुई महाशक्ति राष्ट्रहरूका बीचमा तीव्र प्रतिस्पर्धाको स्थिति छ ।
विशेषगरी एक्काईसौं शताब्दीलाई परिभाषित गर्ने कृत्रिम बौद्धिकता (आर्टिफिशियल इन्टेलिजेन्स- एआई) प्रविधिको विकासमा महाशक्तिहरूले प्रतिस्पर्धा गरिरहँदा चीनले आश्चर्यजनक प्रगति गरेको छ ।
कृत्रिम बौद्धिकताको क्षेत्रमा अमेरिकाको ओपनएआई कम्पनीले च्याटजीपीटी प्रविधि विश्वभरि लोकप्रिय बनाएकोमा अहिले त्यसलाई उछिन्ने गरी चीनले डीपसीक नामक एआई ल्याएको छ । उक्त प्रविधि सार्वजनिक भएको दुई हप्ता पनि नहुँदै अमेरिकीहरूको सातो गएको छ ।
चीनलाई यस्तो किसिमको प्रविधि विकास गर्नबाट रोक्नका लागि अमेरिकाको तत्कालीन बाइडन प्रशासनले विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरेको थियो । विशेषगरी एआईका लागि आवश्यक सेमीकन्डक्टर र चिप बनाउने यन्त्रहरू चीनलाई बेच्न नपाइने भनी लगाइएको प्रतिबन्धका कारण चिनियाँहरूको प्रगति रोक्न सकिने अमेरिकीहरूको आकलन थियो ।
खासमा चीनलाई अत्याधुनिक सैन्य प्रविधि विकसित गर्नबाट रोक्ने अमेरिकाको उद्देश्य थियो । चीनले त्यस्तो प्रविधि विकसित गरेमा आफूलाई रणनीतिक हानि हुने अमेरिकाको आकलन थियो । त्यससँगै अमेरिकाले अहिलेसम्म महत्त्वपूर्ण प्रविधिको आपूर्ति शृंखलामा कायम गरिरहेको प्रभुत्व पनि खस्किएर चीनले आफूलाई उछिन्ला भनी पीर मानिरहेको थियो ।
त्यसका अतिरिक्त अमेरिकीहरूले चिनियाँप्रति हेयभाव राख्दै चिनियाँहरूले नवप्रवर्तन गर्न सक्दैनन् भन्ने गरेका थिए । चीनले अमेरिकी प्रविधिलाई चोरेर वा नक्कल गरेर मात्र सफलता पाएको हो भन्ने गलत मान्यता अमेरिकीहरूले राख्ने गरेका थिए ।
तर अमेरिकाले चिनियाँहरूलाई प्रविधिमाथिको पहुँचमा बन्देज लगाएको अनि उनीहरूको प्रवर्तनात्मक क्षमताको अवमूल्यन गरेको भए पनि संसारलाई चकित पार्ने गरी चीनले डीपसीक नामक एआई प्रणाली ल्यायो । यसको प्रभावकारिता, सटीकता र गुणस्तरीयता अमेरिकाको च्याटजीपीटी वा अन्य एआई प्रणालीभन्दा निकै उम्दा छ । त्यसको गुणस्तरीयतालाई च्याटजीपीटीका निर्माता साम अल्टम्यानले पनि बेमनले स्वीकार गरेका छन् भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो आफूहरूका लागि जागरणको सन्देशका रूपमा आएको बताएका छन् ।
डीपसीकको सफलताले जलेका अमेरिकीहरूले अहिले व्यापक रूपमा त्यसका विरुद्ध डिनायल अफ सर्भिस अर्थात् डीडस आक्रमण गर्न थालेका छन् । त्यसका साथै उनीहरूले डीपसीकले दिने डेटा च्याटजीपीटीबाट चोरिएको हो भन्ने हास्यास्पद कुतर्क अघि सारेका छन् । डीपसीक र च्याटजीपीटी दुवैले इन्टरनेटमा भएका सामग्रीका आधारमा डेटा उत्पादन गर्ने हुन्, कुनै नयाँ कुरा आविष्कार गरेर प्रयोगकर्तालाई दिने हैनन् । इन्टरनेट सामग्रीमा च्याटजीपीटीको सर्वाधिकार भएको भए पो डीपसीकले चोरेको ठहरिन्थ्यो । अझ त्यसमाथि च्याटजीपीटी वा अन्य एआई प्रणालीले यसरी डेटामा सर्वाधिकार खोज्ने हो भने भोलिपर्सि कसैले पनि एआई चलाउनै मिल्दैन ।
केही नलागेपछि अहिले पश्चिमाहरू डीपसीकको बोटलाई विवादास्पद प्रश्न सोधेर ट्रोल गर्न थालेका छन् । तियानानमेन स्क्वेयरको घटना जस्ता चिनियाँ राजनीतिका विवादास्पद प्रश्न सोध्दा डीपसीकले उत्तर नदिएको अनि यसबाट चीनको सेन्सरशिप उजागर भएको भनी उनीहरूले गिल्ला गरिरहेका छन् । तर पश्चिमाहरूको यस्तो गिल्लाले डीपसीकको लोकप्रियतामा कुनै आँच आएको छैन ।
पश्चिमका ठूला प्रविधि कम्पनीहरू डीपसीकबाट त्रसित हुनुमा अर्को एउटा महत्त्वपूर्ण कारण छ । च्याटजीपीटीको भन्दा निकै कम लागतमा डीपसीकले संसारभरि एआई प्रविधिलाई सुलभ बनाइदिएको छ । ओपनएआईले एआई प्रविधिलाई नाफामूलक बनाएर प्रयोगकर्ताहरूबाट मोटो रकम असुल्ने लक्ष्य लिएकोमा डीपसीकले ओपन सोर्स विधि अपनाएर सबैलाई पहुँच दिलाइदिएको छ । ओपनएआईको चरम पूँजीवादी नाफामूलक मोडलको साटो सर्वसुलभ समाजवादी मोडल डीपसीकले उपलब्ध गराएकाले अन्य एआई कम्पनीहरूलाई पनि त्यो मोडल अपनाउन बाध्य बनाउने निश्चित छ ।
ओपनएआईले एआई प्रविधि सञ्चालनका लागि विशाल संख्यामा डेटा केन्द्रहरूमा लगानी गरिरहेको छ । त्यसैलाई अघि बढाउन उसले गत जनवरी २१ मा ट्रम्प प्रशासनको आशीर्वादमा स्टारगेट प्रोजेक्ट नामक नयाँ कम्पनी खडा गरेको छ । उक्त कम्पनीले आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गर्ने लक्ष्य लिएको छ ।
तर डीपसीकको ओपन सोर्स वा एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मोडलले व्यापक लगानीका डेटा केन्द्रहरू आवश्यक नै नरहेको प्रमाणित गरेको छ । एपीआई विभिन्न सफ्टवेयर एप्लिकेशनहरूलाई एकअर्कासँग समन्वय गराउने नियम भनी बुझ्नुपर्छ । उदाहरणका लागि, तपाईंको फोनमा भएको मौसम सम्बन्धी यापले सरकारको मौसम विभागको डेटा उपयोग गरी तपाईंलाई मौसमको जानकारी दिलाउँछ । यहाँ के पनि विचारणीय छ भने डीपसीकको एपीआईले ओपनएआईले तिराइरहेको मूल्यको जम्मा ३ प्रतिशत लिने गरेको छ ।
ओपन सोर्समा आधारित डीपसीकका ससाना ल्यांग्वेज लर्निङ मोडल (एलएलएम) हरू प्रयोगकर्ताको निजी ल्यापटप वा गेम खेल्न मिल्ने पर्सनल कम्प्युटरहरूमा चलाउन सकिन्छ । ओपन सोर्स भन्नाले प्रयोगकर्ताहरूले कुनै सोर्स कोड लिएर त्यसलाई आफ्नो सुविधाअनुसार सम्पादन, स्तरोन्नति र बिक्री समेत गर्न मिल्ने सुविधा हो ।
यस्तो सर्वसुलभ सुविधा उपलब्ध गराउने डीपसीकको तुलनामा ओपनएआईको केन्द्रीकृत नियन्त्रणमुखी मोडल गतार्थ भइसकेको प्रमाणित हुन्छ । अहिले उसले ५०० अर्ब डलर लगानी अमेरिकामा रोजगारी सिर्जना गर्नका लागि त भनेको छ तर त्यो लगानीको उद्देश्य पवित्र छैन । खासमा ओपनएआई नामले नै ऊ एआई प्रविधिलाई खुला बनाउने पक्षमा रहेको प्रतीत हुन्छ तर अहिले साम अल्टम्यानले त्यसलाई नाफामूलक कम्पनी बनाउन खोज्दा इलन मस्कले त्यसको विरोध गरेका छन् । त्यस्तो नाफाखोरी प्रवृत्तिलाई विरोध गर्ने भारतीय मूलका सुचिर बालाजीको रहस्यमय मृत्यु भएको थियो र सुचिरका आमाबुवाले त्यसलाई हत्या भनिरहेका छन् ।
ओपन सोर्स वा एपीआईमार्फत डीपसीकले उम्दा रणनीतिक कदम चालेको देख्न सकिन्छ । ओपनएआईले केन्द्रीकृत भौतिक संरचना (डेटा सेन्टरहरू) मा विशाल लगानी गरिरहँदा डीपसीकले एआईको विकेन्द्रीकरण र लोकतान्त्रिकीकरण गरी स्थानीय स्तरमा नै त्यसको सञ्चालनको अवसर दिएको छ । भव्य संरचनाहरूमा डीपसीकले पैसा खर्च गर्नै पर्दैन, त्यसका प्रयोगकर्ताहरूले नै ओपन सोर्समार्फत त्यसका ल्यांग्वेज मोडलहरू सिर्जना गरिदिन्छन् । यसरी ओपनएआईको एकध्रुवीयताको तुलनामा डीपसीकको बहुध्रुवीयता अधिक ग्राह्य देखिन्छ । ओपनएआईले गरेको अर्बौंको लगानी उसैका लागि गलपासो बन्न सक्ने स्थिति देखिएको छ ।
डीपसीकको उदाहरणले एउटा कुरा स्पष्ट भएको छ । त्यो के भने, अमेरिकाले चीनलाई प्रतिस्पर्धा र प्रवर्तनविरोधी अप्रगतिशील कम्युनिस्ट निरंकुशतावादी समाजका रूपमा गर्दै आएको चित्रण सर्वथा गलत रहेछ । वास्तवमा चिनियाँ (र पूर्वी एसियाली समाज) को प्रकृति नै प्रतिस्पर्धात्मक छ । त्यसैले त चिनियाँ, जापानी र दक्षिण कोरियालीहरूले प्रविधिको क्षेत्रमा विशाल फड्को मारिरहेका छन् ।
चीनको विषयमा झूटो प्रचार गरी आफैं त्यसलाई पत्याउने हुँदा अमेरिकाले एआई, विद्युतीय वाहन, सामाजिक सञ्जाल, शहरीकरण लगायतका विविध क्षेत्रमा चीनको प्रगतिलाई अवमूल्यन गरेको हो । चीनले गरेको सबै प्रगति चोरी र पक्षपाती व्यापारिक नीतिका कारण सम्भव भएको हो भन्ने अमेरिकाको आक्षेप गलत साबित भएको छ ।
चिनियाँहरूको प्रवर्तनात्मक क्षमतालाई रोक्न नसकेपछि अहिले अमेरिकीहरू प्रतिबन्धको केटाकेटीपना देखाइरहेका छन् । टिकटकमा प्रतिबन्ध लगाउनका लागि गरेको पहलसँगै अब अमेरिकी भूमिमा डीपसीक चलाउन नदिने घोषणा पनि हुनेवाला छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्ना कर्मचारीलाई डीपसीक चलाउन प्रतिबन्ध लगाइसकेको छ ।
यस्तो प्रतिबन्धले अमेरिकाको दोहोरो चरित्र उदांगो पारेको छ । संसारभरिका योग्य मानिसहरू भित्र्याएर नवप्रवर्तन गर्ने अनि प्रतिस्पर्धात्मकतालाई अंगीकार गर्ने अमेरिकीहरू अर्को देशले बनाएको उम्दा उत्पादनप्रति ईर्ष्यालु हुँदै प्रतिबन्ध लगाउन पुग्छन् । नवप्रवर्तनमा जोड दिएर डीपसीक भन्दा राम्रो एआई प्रविधि बनाई चीनलाई पछि पार्नुको साटो प्रतिबन्धको तुच्छ राजनीतिमा लागेर अमेरिकीहरू जगहँसाइ गरिरहेका छन् ।
तर अमेरिकी प्रतिबन्धका बावजूद चीनले अत्याधुनिक प्रविधिका नयाँ नयाँ क्षेत्रमा प्रवर्तन गर्दै जाने देखिन्छ । उता रुस पनि ओरेशनिक जस्ता हाइपरसोनिक हतियार प्रणालीमा नवप्रवर्तन गरिरहेको छ । नवप्रवर्तनमा भन्दा पनि संसारभरि अनावश्यक युद्ध र द्वन्द्व चर्काउनमा ध्यान दिएकाले अमेरिकीहरू प्रविधिमा पछि पर्दै गएका हुन् । डीपसीकको अकल्पनीय सफलताले उनीहरूलाई प्रवर्तनतर्फ केन्द्रित हुन बाध्य बनाउने अपेक्षा सारा विश्वले गरिरहेको छ ।
प्रतिक्रिया