काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल टेलिकम, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्नसक्ने १५ प्रतिशतको अधिकतम सीमा हटाउनुपर्ने बताएका छन् । अर्थतन्त्रमा देखिएको सिथिलता अन्त्य गर्दै आर्थिक गतिविधि बढाउन बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयर बिक्री लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालले बताए ।
ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत गर्न नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमा उनले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएकोले बजारलाई थप चलायमान बनाउन बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा रोक लगाउन नहुने बताए ।
उनले नेपाली पुँजी बजार फण्डामेन्टन्ल भन्दा हल्लाको लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए । ‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दीर्घकालीन नीति बनाउनु पर्छ ।’
ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । पछिल्लो समय केही कम्पनीहरु सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफुतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने बताए । उनले बजारमा म्यानुपुलेसन भइहेकोले त्यसमा समेत सजक हुनुपर्ने उनले बताए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले अहिले नेपालको पूँजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै हरेक वर्ष लाभांस दिने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए । ‘कतिपय कम्पनीहरुले व्यालेन्ससीटलाई म्यानुपुलेसन गरेर घाटामा रहेका कम्पनीको पनि आईपीओ जारी गर्ने क्रम बढेको छ । त्यसलाई रोक्नुपर्छ,’ उनले भने, ‘पुँजी बजारमा लगानी गरेपछि कुनैपनि लगानीकर्ताले वार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपीओ ल्याउन स्वीकृति दिनुपर्छ ।’
उनले अहिले जस्ता पनि कम्पनीको आईपीओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएरहेको बताए ।
प्रतिक्रिया