आन्तरिक हवाई उडानको दुर्घटना रकम बढाउन अर्थ मन्त्रालय राजी, १ करोड क्षतिपूर्ति पाउन सहज



काठमाडौं । आन्तरिक हवाई उडानको दुर्घटना पश्चात पाउने क्षतिपूर्ति बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थको सहमतिपछि अब आन्तरिक हवाई उडानका वायुसेवा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यले एक करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउन सहज हुने भएको छ ।

यो व्यवस्थाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार परेको ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ माथि अर्थ मन्त्रालयले सहमति दिएको छ ।

पर्यटन मन्त्रालयका अधिकृत सूवर्ण भट्टराईकाअनुसार अर्थले राय दिएर उक्त विधेयकलाई पर्यटन मन्त्रालय पठाएको छ । अब कानून मन्त्रालयको रायपछि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषदको स्वीकृतिपछि संसदमा जाने छ । संसदले अनुमोदन गरेपछि व्यवहारिक रुपमा यो विधेयक कानून बनेर आउने र कार्यान्वयनमा जान्छ ।

यसअघि नै विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा दर्ता गराएको थियो । मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गरेर विधेयक बनाउन दिएको अनुमितलाई पर्यटन मन्त्रालयले गति दिएको हो ।

यो विधेयक स्वीकृत भएर आएपछि आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने छ। हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर पाउँछन् भने मन्त्रायले तयारी गरेको उक्त विधेयक स्वीकृत भएर आएपछि १ लाख डलर अर्थात अहिलेकै डलर सटहीको दरअनुसार पनि १ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित यात्रुका परिवारले पाउँछन् ।

सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति बढाउनकै लागि यो विधेयक बनाएको हो । हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि १ लाख डलर बनाउन गरी कानूनी प्रक्रिया अगाडि बढाएको पर्यटन मन्त्रालयको भनाइ छ ।

‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’मा प्रस्ताव गरिएको व्यवस्था अनुसार आन्तरिक हवाई उडानमा समेत अब मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागू गर्न खोजिएको हो । यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै लागू छ ।

नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागू गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । बिमा रकम बढाउँदा प्रिमियम पनि बढ्ने भएकोले कम्पनीहरुलाई मार नपर्ने गरी १ लाख डलरमात्रै प्रस्ताव गर्न खोजिएको पनि मन्त्रालयको भनाइ छ ।

यसअघि सौर्य एयरको हवाई जहाज दुर्घटना हुँदा बीमा रकमसँगै क्षतिपूर्तिसमेत बढाउनुपर्ने विषयमा विवाद भएको थियो । सरकारले यसअघि नै यो विधेयक नल्याउँदा नेपाली हवाई दुर्घटनामा परेका परिवारका सदस्यले पाउने क्षतिपूर्ति कम भएको गुनासो बढ्दै आएको छ ।