काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।
विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण भएको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ ।
विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको जानकारी दिए । उनले उक्त परीक्षणको नतिजा ठिक रहेको बताए । उनले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताए । उनले न्यूनतम २ प्रतिशतदेखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताए ।
इन्जाईम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिने उनले बताए ।
३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको उनले बताए ।
बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलान्चोक,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेको बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर,विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षण गरिएको छ ।
गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरिएको थियो । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पाइएको विभागले जनाएको छ ।
‘आज बल्खुमा अनुगमन गर्यौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं,’ उनले भने, ‘ २० जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं ।’
नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्ने उनले बताए ।
‘त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ,’ उनले भने, ‘विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ । तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।’
उनले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको बताए।
प्रतिक्रिया