आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा साढे ५८ करोड अपचलन, बहुउद्देश्यीय संघका अध्यक्ष थापा ७ महिनादेखि फरार


काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाबाट बचतकर्ताको ५८ करोड ५७ लाख ५५ हजार २७२ रुपैयाँ अपचलन भएको छ ।

सहकारीका सञ्चालकले बचकर्ताको ४० करोड ११ लाख ६९ हजार ३४२ रुपैयाँ अपचन गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अहिले थप ६०८ जनासहित १८ करोड ४५ लाख ८५ हजार ९३० रुपैयाँसहित ५८ करोड ५७ लाख ५५ हजार २७२ रुपैयाँ माग दाबी परेको छ ।

संस्थाबाट बचत अपचलन गर्ने मध्ये संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती पक्राउ परेका छन् भने बाँकी १५ जना फरार रहेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष मनोज कुमार थापा विगत ७ महिनादेखि फरार रहेका छन् ।

उनको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । उक्त सहकारी ठगी प्रकरणमा फरार हुनेमा संस्थाका तत्कालीन आईडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा मर्ज भएर बनेको संस्थाका सचिव कुयाङ छुयाङ दोर्जे लामा, आईडियल यमुना बहुउद्देश्यीय सहकारी तथा आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष प्रजुल कुमार गुरुङ, आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य प्रकाशमान शाही खड्गी, तत्कालीन आईडियल यमुना सहकारीका उपाध्यक्ष श्रवण कुमार राई फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै तत्कालीन नागरिक कल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक हस्त रावत, सदस्य गोपिनाथ घिमिरे, तत्कालीन घेदुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्था लेखा सुपरीवेक्षक समितिका संयोजक कुमार सिंह घिसिङ, लेखा समिति सदस्य बद्री महत, लेखा समिति सदस्य राम प्रसाद श्रेष्ठ, सदस्य महित कुमार तामाङ फरार रहेको प्रहरीको भनाइ छ ।

आईडियल यमुना सहकारी संस्थाका सचिव सुरज ब्यन्जनकार, सञ्चालकहरु राधा देवी राई र धन श्रेष्ठ तथा सदस्य गोपाल प्रसाद ढकाल फरार रहेका छन् ।

Skip This