बचतकर्ताको सवा ९ करोड ठगेर ग्रेट गंगा सागर सहकारीका अध्यक्षसहित ७ जना फरार


काठमाडौं । सहकारीका बचतकर्ताको ९ करोड ३० लाख ५८ हजार ६७४ रुपैयाँ ठगेर पुरानो बानेश्वरमा रहेको ग्रेट गंगा सागर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ७ जना फरार भएका छन् ।

उक्त रकम बचत अपचलन गरेर सहकारीका अध्यक्ष उत्तर बहादुर तामाङसहित ७ जना फरार रहेका छन् । फरार हुनेमा सहकारीका उपाध्यक्ष डम्बर बहादुर तामाङ, कोषाध्यक्ष ईन्द्र बहादुर खड्का, सचिव अमर बहादुर तामाङ फरार रहेका छन् ।
यस्तै सहकारीका बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सञ्चालक समिति सदस्य सुदर्शन खत्री, सदस्य शुशिल बम्जन र सदस्य बिश्वकर लामा रहेका छन् ।

सहकारीका सञ्चालकले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै ठगेको बचतकर्ताको आरोप छ । सञ्चालकले हाल सहकारी संस्था बन्द गरेर फरार रहेका छन् ।

बचतकर्ताको बचत ठगी गर्ने ७ जना विरुद्ध मुलुुकी अपराध संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम सजाय गरी ठगी भएको रकम जाहेरवालालाई दिलाई भराई पाउ भन्ने माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुुद्दा दायर भएको छ ।