पोखरा फाइनान्सलाई राष्ट्र बैंकको प्रश्न: किन समस्याग्रस्त घोषणा नगर्ने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स कम्पनीलाई ‘किन समस्याग्रस्त घोषणा नगर्ने’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ ।

गत साता बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले फाइनान्सलाई किन समस्याग्रस्त घोषणा गर्ने ? त्यसको कारणसहित १५ दिन भित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

राष्ट्र बैंकका एक उच्च अधिकारीले पोखरा फाइनान्सलाई गत साता कम्पनीलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर लिखित स्पष्टीकरण सोधेको जानकारी दिए ।

राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरे लगत्तै अन्य वित्तीय संस्थामा निगरानी सुरु गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेपछि सबै वाणिज्य बैंकलाई पत्र लेख्दै पोखरा फाइनान्ससहित २ वित्त कम्पनी र ४ विकास बैंकले वाणिज्य बैंकमा कति निक्षेप राखेका छन् भनेर केन्द्रीय बैंकले खोजी गरेको छ ।

राष्ट्र बैंकले अफ–साइट सुपरिभिजन अन्तर्गत उक्त जानकारी वाणिज्य बैंकसँग माग गरेको जनाएको छ ।

राष्ट्र बैंकले १५ दिने स्पष्टीकरण सोधेको पोखरा फाइनान्स भने मर्जका लागि अन्य बैंक तथा वित्तीय संस्था खोजिरहेको छ । पुस २९ गते सम्पन्न गरेको २७ औं वार्षिक साधारणसभामा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स मर्जर प्रक्रियामा अघि बढिसकेको जनाइएको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा छलफल सुरु गरिसकेको छ ।

स्रोतका अनुसार फाइनान्सको वर्तमान सञ्चालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । तर, कुन बैकसँग मर्जमा जाने भन्ने विषय खुलाएको छैन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १५ लाख रुपैयाँ नोक्सान रहेको पोखरा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशत रहेको छ । बढ्दो खराब कर्जाका कारण पुँजी कोषमा दबाब बढ्दो छ ।


क्लिकमान्डु