रवि लामिछाने आइतबारमात्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् । लामिछाने अब आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका हुन् ।

रास्वपाका नेता दीपक बोहराका अनुसार लामिछाने कास्कीमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि काठमाडौं जाने तयारीमा छन् ।

बोहराले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रवि दाइका अनुसार उहाँ कास्कीमा कानुनी कार्यहरू सकेर काठमाडौं जान लाग्नुभएको छ । सम्बन्धित निकायहरूसँग समन्वय गरी आइतबार बिहान ८:३० मा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु हुनेछ।’

यसअघि, कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी प्रकरणमा सभापति लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशसँगै बिहीबार नै लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका थिए ।

रिहाइपछि लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराइ परिवारको जिम्मा लगाइएको थियो ।

लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुँदै छन् ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।

यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेक बहसपछि सात जना प्रतिवादीलाई तोकिएको धरौटी रकम बुझाएर रिहा गर्ने आदेश दिएको थियो ।

लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाल १५ लाख, आरती गुरूङ ५ लाख, कृष्णबहादुर गुरूङ १ लाख धरौटी बुझाउन आदेश दिएको छ ।

प्रतिवादी लीला पछाईंले बिहीबार धरौटी रकम बुझाउन नसक्दा हिरासतमै रहेकी छन् भने अन्य छुटेका छन् ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारी ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।


क्लिकमान्डु