रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार कास्की अदालतबाट धरौटीमा रिहा भए ।
कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै बिहीबार नै लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भए ।
रिहाइपछि लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराइ परिवारको जिम्मा लगाइएको थियो ।
लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज आफैं अदालतमा उपस्थित हुँदै छन् ।
काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।
यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेक बहसपछि सात जना प्रतिवादीलाई तोकिएको धरौटी रकम बुझाएर रिहा गर्ने आदेश दिएको थियो ।
लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाल १५ लाख, आरती गुरूङ ५ लाख, कृष्णबहादुर गुरूङ १ लाख धरौटी बुझाउन आदेश दिएको छ ।
प्रतिवादी लीला पछाईंले बिहीबार धरौटी रकम बुझाउन नसक्दा हिरासतमै रहेकी छन् भने अन्य छुटेका छन् ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारी ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।