अमेरिकी पासपोर्ट खस्कँदै, चिनियाँ उकासियो, यस्तो छ नेपालको अवस्था
काठमाडौं । कुनै पनि देश कति शक्तिशाली वा धनी छ भनेर थाहा पाउन हाम्रो पासपोर्ट कस्तो छ भन्ने कुराले पनि निर्धारण गरेको हुन्छ । अर्थात् कुनै पनि देशको दूतावास वा अध्यागमनले तपाईँको नेपाली पासपोर्ट हेरेर भिसा दिन्छ कि दिँदैन ?
आम नेपाली युवाहरु आज यही प्रश्नको गोलचक्करमा फसिरहेका छन् । पासपोर्टको शक्ति र महत्व कति छ भने भनिरहनु नै नपर्ला ।
त्यसो भए नेपाली पासपोर्ट अन्य देशको तुलनामा विश्व समुदायमा कति शक्तिशाली पासपोर्टको रुपमा चिनिन्छ त ? यसबारे धेरैलाई चासो होला नै ।
कुन देशको पासपोर्टको स्टाटस कस्तो छ वा कति शक्तिशाली छ भनेर मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘हेनरी पासपोर्ट इन्डेक्स’ले हरेक वर्ष शक्तिशाली पासपोर्ट भएको देशहरुको अवस्था सार्वजनि गर्छ ।
२०२५ को सुरुवातसँगै हेनरी पासपोर्ट इन्डेक्सको रिपोर्ट सार्वजनिक भएको छ । जहाँ विश्वशक्ति मानिएको अमेरिकाको पासपोर्ट ९औं स्थानमा रहेको छ । र एक दशकयता अमेरिकी पासपोर्टको अवस्था ९औं स्थानबाट तल झरेको छैन । तर हेनरी पासपोर्ट इन्डेक्सका अनुसार अमेरिकी पासपोर्ट १० वर्षअघि २०१४ मा पहिलो नम्बरमा नै थियो । जुन अवस्थाबाट पछिल्लो समय अमेरिकी पासपोर्टको शक्ति खस्किएको बताइन्छ ।
अमेरिका जस्तो शक्तिशाली देशको पासपोर्ट भने ९औं स्थानमा छ भने पहिलो स्थानमा कुन देशको पासपोर्ट होला त ? धेरैलाई जिज्ञासा हुनु स्वभाविक नै हो । यद्यपि कुनै पनि अमेरिकी नागरिकले आफ्नो देशको पासपोर्ट बोकेर १८६ देशमा सजिलै बिनाभिसा यात्रा गर्न सक्छन् ।
त्यसो त कुनै पनि देशको सफ्ट पावर कति छ भन्ने कुरालाई उक्त देशको नागरिकले कति देशका बिना रोकतोक घुम्न सक्छ भन्ने कुराले पनि निर्धारण गर्छ ।
हेनरी पासपोर्ट इन्डेक्सका अनुसार विश्वभर सबैभन्दा शक्तिशाली पासपोर्टको रुपमा भने सिंगापुरको पासपोर्ट चिनिन्छ । अर्थात् सिंगापुरको पासपोर्ट २०२५ को नम्बर १ मा परेको छ ।
जवकि सिंगापुरका नागरिकले १९५ देशमा बिना रोकतोक सजिलै भ्रमण गर्न सक्छन् । यसैगरी दोस्रो शक्तिशाली पासपोर्ट जापानको मानिएको छ । जापानी नागरिकले भने १९३ देशमा भ्रमण गर्न अग्रिम भिसा लिइरहनु पर्दैन ।
यसबीचमा कतिपय विज्ञहरुले अमेरिकाको पासपोर्टको गिरावटको सन्दर्भमा डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिलाई दोष लगाउने गर्छन् । अर्थात् यसै नीतिका कारण अमेरिकी पासपोर्ट खस्किन थालेको विज्ञहरुको भनाइ छ ।
फोब्र्समा प्रकाशित समाचार अनुसार वासिंटन थिंकट्यांकका विज्ञ एन्नी फोरजेइमरका अनुसार अमेरिकामा ट्रम्पका कतिपय नीतिहरुले पनि यसको पासपोर्टलाई खस्काउने काम गरिरहेको छ ।
यससँगै चीनको खुलापनका बीच अमेरिकाले जसरी अब अमेरिका एक्लै अगाडि बढ्न सक्छ भनेर अतिवादी विचार प्रवाह गरिरहेको छ यसले पनि अमेरिकी पासपोर्टलाई कमजोर बनाउन मद्दत गरिरहेको विज्ञहरुको तर्क छ ।
यसको उदाहरणको रुपमा पछिल्लो निर्वाचनको समयमा पनि यस्तै विचारले व्यापकता पाएको देखियो । जस्तो कि अमेरिका एक्लै अगाडि बढ्न सक्छ र एक्लै अगाडि बढ्नुपर्छ भन्ने विचार बलियो रुपमा ट्रम्पले नै फैलाउने काम गरे । जसको असर अमेरिकी अर्थतन्त्र र पासपोर्टमा पनि परेको देखियो ।
चीनको अवस्था
त्यसो त अमेरिकी नीतिको ठीक विपरित पछिल्लो दशकमा अमेरिकाको अवस्था खस्किरहँदा चिनियाँहरुले आफ्नो भ्रमण गतिविधि व्यापक रुपमा बढाइरहेका छन् ।
हेनरी पासपोर्ट इन्डेक्सका अनुसार २०१५ मा ९४ नम्बरमा रहेको चिनियाँहरुको भ्रमण गतिविधिको सूची सुधार भएर २०२५ मा आइपुग्दा ६० औं नम्बरमा उक्लिएको हेनरी पासपोर्ट इन्डेक्सले देखाएको छ ।
यसैगरी चीनको भिसा फ्रि हुने गन्तव्यहरु पनि वृद्धि भएर १० वर्षमा ४० वटा गन्तब्य पुग्यो । र गत वर्ष थप २९ देशहरुबाट भिसा फ्रि पहुँच पाएर अब चीन अब पासपोर्ट इन्डेक्सको ८० औं नम्बरमा उक्लिएको छ ।
खस्किएका शक्तिशाली पासपोर्टहरु
यसबीचमा विश्वका कतिपय शक्तिशाली र समृद्ध देशहरुका पासपोर्टको अवस्था अनपेक्षित रुपमा खस्किने क्रम व्यापक मात्रामा छ ।
विशेषगरी २०२५को सुरुवातमा नै विश्वका १९९ वटा पासपोर्टहरुमध्ये २२ पासपोर्टहरुको अवस्था खस्किएको हेनरी पासपोर्ट इन्डेक्सले उल्लेख गरेको छ ।
जहाँ अमेरिकी पासपोर्टको खस्किने क्रम पहिलो र दोस्रो स्थानबाट सातौं स्थान हुँदै हाल नवौं स्थानमा झरेको छ । र यो सबै खस्किने क्रम पछिल्लो १० वर्षको अवधिमा भएको हो ।
यसैगरी खस्किने क्रममा भेनेजुएलाको अवस्था पनि अमेरिकाको जस्तै छ । अर्थात् पछिल्लो १० वर्षमा भेनेजुएलाले ६ स्थान ओरालो लागेको देखिन्छ । यसैगरी ८० वटा टापुहरु मिलेर बनेको दक्षिण प्रसान्त महासागरको भनुआतु भन्ने देशको पनि २ स्थान खस्किएको देखिन्छ ।
यस्तै बेलायती पासपोर्ट २०१५ मा इन्डेक्स अनुसार विश्वकै १ नम्बरमा थियो । जवकि अहिले २०२५ मा ५औं स्थानमा खस्किएको छ । यसैगरी आफ्नो शक्ति गुमाउने पासपोर्टमा क्यानेडियन पासपोर्ट पनि हो ।
अर्थात् आफ्नो शक्ति गुमाउने टप ५ पासपोर्टमा क्यानडा पनि एक हो । जसको पासपोर्ट पछिल्लो दशकमा ४ स्थानबाट खस्किएर ७औं स्थानमा पुगेको छ ।
सबैभन्दा शक्तिशाली ५ वटा पासपोर्टहरु
सिंगापुर, जापानपछि फिनल्यान्ड, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेनका पासपोर्ट शक्तिशाली रहेको इन्डेक्समा उल्लेख छ ।
जवकि स्पेन हाल तेस्रो स्थानमा उक्लिएको छ ।
यस्तै चौथो स्थानमा भने विभिन्न ७ वटा देशहरु रहेका छन् । अष्ट्रेलिया, डेनमार्क, आयरल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, नर्वे र स्विडेन इन्डेक्सको चौथो नम्बरमा रहेका छन् ।
जवकि यी देशका पासपोर्ट धारक नागरिकहरुले १९१ देशहरुमा भ्रमण गर्नका लागि भिजा मागिरहनु पर्दैन । यस्तै पाँचौं स्थानमा भने बेल्जियम, न्युजल्यान्ड, पोर्चुगल, सिवजरल्यान्ड र बेलायत बराबरी नम्बरसहित रहेका छन् ।
यसवाहेक अफगानिस्तान सबैभन्दा कमजोर पासपोर्ट भएको देशको रुपमा अन्त्यमा रहेको छ ।
नेपालको अवस्था के छ ?
सामान्यतया नेपालको चासो हुनु स्वभाविक छ । नेपालको पासपोर्टको सामार्थ कति हो त ? हेनरी पासपोर्ट इन्डेक्स अनुसार नेपाल १०१औं स्थानमा छ । जवकि नेपालीहरुलाई ३९ देशमा सहज भिसा आदानप्रदान सुविधा छ ।
अर्थात् सूचीको पछाडिबाट हेर्दा नेपाल ७औं नम्बरमा परेको छ । जुन सोझो भाषामा भन्दा नेपालको पासपोर्टको अवस्था ‘दयनीय’ नै हो ।
यसरी नेपालभन्दा पछाडि रहेका देशहरुमा सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान क्रमशः रहेका छन् ।