विश्नोईको नाम लिँदै व्यवसायी र गभर्नर धम्क्याउने दुर्गा प्रसाईं र फुयललाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईको बिहीबार थुन थियो । बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध पुस २४ मा संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयल र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको थियो । मैनाली हाल फरार छन् ।
फुयलले विश्नोईको नाम लिँदै व्यवसायी, बैंकर तथा नेपाल गभर्नरलाई समेत टेलिफोनमार्फत् धम्की दिएका थिए । अनुसन्धानको क्रममा फुयलको सम्बन्ध प्रसाईसँग जोडिएको पाइएको थियो ।