सूर्यदर्शन सहकारी ठगी: आदेश लेखन जारी, विश्राम कक्षमा रविसँग निकिता, सुरक्षा बढाइयो
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित अन्य पदाधिकारीहरू मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको जवाफी बहस सम्पन्न भएको हो ।
जिल्ला अदालत कास्कीका अनुसार आजै बेलुका आदेश आउने सम्भावना रहेको जनाइएको छ । मुद्दाको आदेश लेखन कार्य भइरहेको छ अदालत स्रोतको भनाइ छ ।
न्यायाधीश राईको इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्नेबारे आदेश गर्ने छ ।
थुनछेक बहस सकिएपछि रास्वपाका शीर्ष नेता, कार्यकर्ता, र सहकारी पीडितहरू अदालत परिसरमा जम्मा भएका छन् । रास्वपाका कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायतलगायत अदालत परिसरमा देखिएका छन् ।
यसैबीच, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
रास्वपा सभापति रवि लामिछानेलाई अदालतभित्र थुनुवा विश्राम कक्षमा राखिएको छ। उनकी पत्नी निकिता लामिछाने पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरिरहेकी छन् । रविका समर्थकहरू उनलाई थुनामुक्त गर्ने आदेशको प्रतीक्षामा छन् ।
अदालतले रविलाई छोड्ने आदेश दिए पनि उनी थुनामुक्त भने हुने सम्भावना कम रहेको प्रहरी उच्च स्रोतको भनाइ छ ।
अन्य जिल्लामा पनि मुद्दा चलिरहेका कारण उनलाई पुन: पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको छ।
सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डिआइजी छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।