विदेश त्यागेर पशुपालन: मुर्रा भैंसीको दुध बेचेर वार्षिक ३० लाख कमाउँछन् कुमार (भिडियो)
ढोरपाटन । पछिल्लो समय युवा पुस्ता विदेश पलायन हुने लर्को चलेको छ । गाउँमा बस्ने युवाको संख्या कम छन् । धेरैको रोजाईमा विदेश र सहर बजारनै पर्ने गरेको छ ।
तर बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेलाई भने आफ्नै पाखा पखेराको स्नेहले टाढिन दिएको छैन । विगतमा झण्डै ६ वर्ष साउदी अरब र ११ महिना सिंगापुरमा बिताएका बस्नेत १२ वर्षदेखि गाउँमै गाईभैँसीपालन गरि दुध उत्पादन गर्दै आएका छन् ।
उनले गाउँमा दैनिक १०० सयदेखि १२० लिटरसम्म दुध उत्पादन गर्छन् । बस्नेतले दुध बेचेर वार्षिक ३० लाख बढी आम्दानी गर्दै आएका छन् ।
कुमारले उत्पादन गरेको दुध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेका छन् ।
गाउँमा बिक्री भएर रहेको दुध कुमारले कहिले स्थानीय डेरीलाई बेच्छन् त कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेका छन् ।
कुमारलाई उनकी श्रीमती ३८ वर्षीया अप्सराको दरिलो साथ छ । २० वटा गाइभैंसीको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिम समेत लिएका बस्नेतले बिक्री भएर बाँकी रहेको दुधबाट खुवा र पनिर बनाएर बच्ने गरेका छन् ।
२०६९ सालमा घरमा भएको एउटा भैंसीमाथी अन्य २ वटा भैंसी थप गरि दुध बेच्न थालेका बस्नेतको बस्नेत पशुपालन फर्ममा अहिले विभिन्न प्रजातीका ११ वटा भैंसी र ९ वटा गाई छन् । त्यसमध्ये ५ वटा मुर्रा भैंसी रहेका छन् ।
कुमारले वैदेशिक रोजगारीमा पाएको दुख विर्षाउन सुरु गरेको व्यवसायीक पशुपालनले खुसी दिएको छ ।
गाईभैंसीलाई खुवाउने घाँस उत्पादनका लागि कुमारले फर्मकै ओरिपरी ४० रोपनी जमिन भाडामा लिएर १ सय ५० केजीसम्म सुडान छर्ने गरेका छन् ।
व्यवसाय विस्तारको क्रममा कुमारले फर्ममा ३० लाख रुपैयाँ भन्दा बढी लगानी पुगिसकेको छ । भारतको विहारदेखि १ लाख ३० हजार रुपैयाँसम्म तिरेर ल्याएका छाकमा १० लिटरभन्दा बढी दुध दिने गाइभैंसी कुमारको फर्ममा छन् । डम्मर बुढामगर/रासस