एमसीसी नेपालमा जागिर खुल्यो



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालन हुने परियोजनामा जागिर खुलेको छ । एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मा २ पदमा कर्मचारी माग भएको हो ।

एमसीए नेपालले एक लिगल एडभाइजर र सहायक डीईडी प्रोजेक्ट म्यानेजरको पोस्टमा जागिर खुलाएको हो । योग्यता पुगेका इच्छुकले जनवारी २१ सम्म ती पदमा आवदेन दिन सक्नेछन् ।

लिगल एड्भाइजरका लागि ज्युरिस ल अध्ययन गरेको र ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यसैगरी सहायक डीईडी प्रोजेक्ट म्यानेजरका लागि स्नातक अध्ययन गरेको र ३ देखि ५ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

एमसीसी अमेरिकी सरकारको सहयोग निकाय हो । यसले विकासशील राष्ट्रहरूमा गरिबी घटाउन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सहयोग गर्दै आएको छ ।

एमसीसी सञ्चालक समितिको सन् २०१७ अगस्टमा बसेको बैठकले नेपाललाई ५० करोड डलरको अनुदान सहयोग गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नासले २०७४ भदौ २९ गते मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) मा हस्ताक्षर गरेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका अर्थमन्त्री डा.युवराज खतिवडाले सन् २०१९ सेप्टेम्बर २९ मा कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त परियोजनाका लागि नेपाल सन् २०११ मा छनोट भएको थियो ।


क्लिकमान्डु