टेस्लालाई चुनौती दिँदै बीवाईडी: बिक्री ४१% बढ्यो, विद्युतीय कार बजारमा अग्रता लिने प्रयास



एजेन्सी । चिनियाँ कार निर्माता बीवाईडीले आफ्नो विद्युतीय कार बिक्रीमा उल्लेख्य प्रगति गर्दै टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेको जनाएको छ । सन् २०२४ मा बीवाईडीको बिक्रीमा ४१% भन्दा बढी वृद्धि भएको दाबी कम्पनीको छ । जसमा मुख्य योगदान हाइब्रिड कारहरूको रहेको बीबीसीले उल्लेख गरेको छ ।

टेस्ला र बीवाईडीको प्रतिस्पर्धा

बीवाईडीले सन् २०२४ को अन्त्यसम्म आफ्नो विद्युतीय कार (ईभी) बिक्रीमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । कम्पनीले डिसेम्बर महिनामा मात्र २ लाख ७३४ ईभी बिक्री गरेको र वार्षिक बिक्री संख्या १.७६ मिलियन पुगेको जनाएको छ । यो वृद्धिमा सरकारी अनुदान र छुटले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले आफ्नो त्रैमासिक बिक्री तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ । अघिल्लो त्रैमासिकमा टेस्लाले बीवाईडीभन्दा अलि धेरै ईभी बिक्री गरे पनि बीवाईडीले तीव्र गतिमा यो अन्तर घटाउँदै गएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा बीवाईडीले पहिलो पटक टेस्लाको राजस्वलाई उछिनेको छ । बीवाईडीले २०० अर्ब युआन (२८.२ बिलियन डलर) राजस्व कमाएको थियो, जुन सोही अवधिमा टेस्लाको २५.२ बिलियन डलरभन्दा धेरै हो ।

बीवाईडीले चीनमा ९०% भन्दा बढी कारहरू बिक्री गरेको छ । चीनमा यसले भोल्क्सवागन र टोयोटाजस्ता विदेशी ब्रान्डलाई बिक्रीको हिसाबले पछि पारेको छ । प्रतिस्पर्धी मूल्य र सरकारद्वारा पुरानो सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नका लागि दिइएको प्रोत्साहनले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ ।

चिनियाँ ईभी निर्माता कम्पनीहरूले विदेशी बजारमा आफ्नो बिक्री विस्तार गर्ने प्रयास गरिरहे पनि युरोप र अमेरिकामा कडा आयात करले चुनौती निम्त्याएको छ।

युरोपमाअक्टोबरदेखि ४५.३% सम्मको आयात कर लागू भएको छ भने अमेरिकामा १००% शुल्क लगाइएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप कर लगाउने तयारी गरिरहेका छन् ।

बीवाईडीले उदीयमान अर्थतन्त्रमा आफ्नो उपस्थिति बलियो बनाउन काम गरिरहेको छ । यद्यपि, ब्राजिलमा केही समस्या देखिएको छ ।

गत महिना ब्राजिलका अधिकारीहरूले बीवाईडीको नयाँ कारखाना निर्माण स्थगित गरेका थिए । उनीहरूले निर्माणमा काम गर्ने मजदुरहरूको अवस्था ‘दासत्वको जस्तो’ रहेको बताएका थिए । बीवाईडीले तुरुन्तै सम्बन्धित निर्माण कम्पनीसँगको साझेदारी तोड्दै कानूनी नियमअनुसार काम गर्ने प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु