ब्रोकर मर्ज गर्ने निर्देशिका अन्तिम चरणमा, चुक्ता पुँजी नपुगेका ३८ वटालाई योजना पेस गर्न सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई मर्जमा जानका लागि आवश्यक निर्देशिका बनाउन थालेको छ । निर्देशिका निर्माणको अन्तिम चरणमा रहेको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।
उक्त निर्देशिका तयार भएपछि कार्यान्वयनमा जाने छ । निर्देशिका कार्यान्वयमा आएपछि असार मसान्तसम्म तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने ब्रोकर कम्पनीहरुलाई मर्जरमा जान सजिलो हुनेछ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बोर्डले निर्देशिका निर्माणको अन्तिम चरणमा पुर्याएको प्रवक्ता घिमिरेले बताए ।
२०८२ असार मसान्तसम्म पुँजी पुर्याउन नसक्ने ब्रोकरलाई मर्जरमा जानका लागि बोर्डले निर्देशिका बनाइरहेको हो ।
यता धितोपत्र बोर्डले चुक्ता पुँजी नपुगेका ३८ वटा ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने योजना यथाशीर्घ पेस गर्न पुस ८ गते पत्राचार गरेको छ ।
बोर्डले यथाशीघ्र पुँजी पुर्याउने योजना पेस गर्न ३८ वटै ब्रोकर कम्पनीलाई निर्देशन दिएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको छ । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
नयाँ लाइसेन्स लिएका ४२ वटा ब्रोकर कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ भने पुराना ५० वटामध्ये १२ वटाको मात्रै पुँजी पुगेको छ । बाँकी ३८ वटा ब्रोकरको पुँजी पुगेको छैन ।
पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई उक्त नियमावलीको नियम १० को (१क) मा भएको व्यवस्था अनुसार पुँजी पुर्याउने योजना मागेको बोर्डले जनाएको छ ।
नियम १० को (१क)मा ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम न्यूनतम पुँजी पुर्याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७क बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । ७क मा ‘धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्न/गाभिन सक्नेछ’ भन्ने व्यवस्था छ ।
नियम १० को (१क)मा भएको व्यवस्था अनुसार नै पुँजी पुर्याउनु ६ महिना अघि पुँजी पुर्याउने योजना माग गरेका बोर्डका एक उच्च कर्मचारीले बताए ।
नियमावलीको नियम १० को १ मा ‘नियम प्रारम्भ हुँदाका वखत संचालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत् २०८२ साल असार मसान्तभित्र अनुसूचि–९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार ६ महिना अघि योजना माग गरेको बोर्डले जनाएको छ ।
यता स्टक ब्रोकर एसोशिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल बोर्डले पुँजी पुर्याउने समय थप्नु पर्ने बताउँछन् । बोर्डले नियमावलीमा नै संशोधन पुँजी पुर्याउने समय थप्नु पर्ने उनको माग छ । तर, यता धितोपत्र बोर्डका अधिकारीहरु भने ६ महिना अघि नियमावली संशोधन गरेर जान नसकिने बताउँछन् । २ वर्ष अघि बनेको नियमावली अनुसार पुँजी बढाउने योजनामा ब्रोकर नलागेको र अहिले नियमावली संशोधन गर्न नसकिने सेबोनको तर्क छ ।
चुक्ता पुँजी नपुगेका ३८ ब्रोकर कम्पनी