सुरक्षित कारोबार ऐनको संशोधन विधेयक अर्थ समितिबाट पारित, ज्ञानेन्द्र शाहीको फरक मत



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए ।

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव दिए । महतले नै यो विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।

समितिका सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए ।

समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्ने अडान लिए । शाहीले वैठकपछि नोट अफ डिसेन्ट पनि लेखेका छन् ।

बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिएका थिए ।


क्लिकमान्डु