पुरुष भलिबल फ्रेन्चाइजी लिग: केडिया ग्रुपले २ करोड ४५ लाख दिने


काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को मंगलबार लोगो सार्वजनिक भएको छ । एक वर्ष देखि पुरुष भलिबलको फ्रेन्चाइज लिग गर्नका लागि भलिबल संघले समन्वय गरिरहेको थियो ।

केडिया ग्रुपले गत असारमा नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिगको भएसँगै पुरुष भलिबलको लिग गर्ने निर्णय गरेको थियो ।

नेपालको राष्ट्रिय खेल भलिबलको लिग आयोजना गर्न भलिबल संघले केडिया ग्रुपलाई ७ वर्षसम्मका लागि दिएको छ ।
सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । प्रतियोगिताभर लाग्ने खर्च अनि प्रतियोगितामा हुने आम्दानीमा भने भलिबल संघको कुनै स्वामित्व हुने छैन ।

केडिया ग्रुपले समग्रमा सात वर्षमा २ करोड ४५ लाखमा भलिबल संघलाई दिनेछ । प्रतियोगिताको लोगो मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनावरण गरेका थिए ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुनेछ । सिंगल राउन्ड रोविनका आधारमा हुने खेल ९ दिनसम्म चल्ने छ । लिगमा कुल १५ खेल हुँदा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतियोगितामा हरेक टोलीमा ९ नेपाली खेलाडी र ३ विदेशी खेलाडी हुनेछन् ।

नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो । यसअघि महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग आयोजना भएको थियो ।

महिला भलिबलको फ्रेन्चाइजी लिग गर्न पनि इन्फिनिटी ग्रुपले एक वर्षमा ३५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो सिजन सकिँदा भलिबल संघले ३५ लाख आम्दानी गरिसकेको छ ।

Skip This