काभ्रेमा रहेको रविको र बूढानीलकण्ठमा रहेको निकिताको जग्गा जफत गर्न अभियोगपत्रमा माग



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ ।

आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूको नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसहित उनकी पत्नी निकितालाई प्रतिवादी बनाइएको छ ।

रवि लामिछानेको काभ्रेपलाञ्चोकको नाल्दुम बालुवापाटनमा रहेको १ रोपनी १ आना १ दाम क्षेत्रफलको जग्गा जफतको माग गरिएको छ ।

त्यस्तै निकिता पौडेलको नाममा बूढानीलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न माग गरिएको छ । जसको मूल्य ३ करोड ८५ लाख रुपैयाँ बराबर छ। उक्त जग्गा २०७६ मंसिर २३ गते खरिद गरिएको थियो।

रवि र निकिताका विभिन्न बैंकमा जम्मा १८ वटा खातामा ७ लाख ७४ हजार ७७४ रुपैयाँ फेला परेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।


क्लिकमान्डु