रविलाई अदालत ल्याइयो, मुद्दा दर्ता हुँदै



कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
आइतबार अदालत खुलेको केही समयमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई अदालत ल्याइएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ ।

यसअघि शुक्रबार, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बाँकी प्रतिवादीहरूविरुद्ध आज अभियोग दर्ता गराउने तयारी गरिएको छ ।

गोर्खा मिडियामा लामिछानेको सेयरका साथै उनी प्रबन्ध निर्देशक थिए । यो मुद्दामा गोर्खा मिडियाका तत्कालीन संचालक तथा पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्न लागिएको हो ।

सरकारी वकिलको कार्यालयलाई आजसम्म मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । सहकारी ठगीको अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिनको कानुनी हदम्याद हुन्छ ।

पूर्वडीआइजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए, र उनको पक्राउको मितिबाट हदम्याद गणना गरिएको छ ।


क्लिकमान्डु