रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै



काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ ।

लामिछानेसहित पाँच जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज अभियोग दर्ता गर्न लागेको हो ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।

शुक्रबार दर्ता गरिएका प्रतिवादीहरू सबै फरार रहेको उल्लेख गरिएको छ । १९ जनाविरुद्ध दायर अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ। यसअघि सहकारी ठगीसम्बन्धी मुद्दामा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ को मागदाबी गरिएको थियो।

दायर मुद्दामध्ये १६ जनालाई सहकारी दफामात्र थपिएको छ। बाँकी दुई जनालाई संगठित अपराध मुद्दा थप गरिएको छ भने जीबी राईमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राष्ट्र बैंकसम्बन्धी कसुरका अभियोग लगाइएको छ ।


क्लिकमान्डु