दुईपटक सुदूरपश्चिमसँग हारेको जनकपुर बोल्ट्सलाई फाइनलमा बदला लिने मौका (भिडियो)
नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबार फाइनल खेल हुँदैछ । फाइनल खेलमा उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
क्यालिफायर एकमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरको थियो । यता क्वालिफायर दुईमा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणको खेलमा सुदूरपश्चिमले समग्रमा फाइनल पुग्न अघि ८ खेल खेल्दा १ खेलमा मात्र पराजय व्यहोर्यो ।
यता जनकपुरले प्रतियोगिताको लिग चरणका ७ खेल मध्य ५ खेलमा जित निकाल्यो। लिगचरणमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो ।
क्वालिफायर १ मा पनि सुदूरसँगै पराजित जनकपुरले क्वालिफायर २ मा भने जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगितामा नेपाली खेलाडीमध्य सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीको रुपमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी छन् ।
शनिबारको खेलमा दिपेन्द्रको कप्तानीमा सुदूरपश्चिम मैदानमा उत्रनेछ । यता आसिफ शेखको कप्तानीमा जनकपुर मैदान उत्रनेछ । नियमित कप्तान अनिल साह घाइते भएपछि शेखले जनकपुरको कप्तानी सम्हालिरहेका छन् ।
प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा लो स्कोरिङ खेलमा पनि संघर्षपूर्ण जित निकालेको जनकपुर फाइनलमा दबाबमा हुने छ भने दुई खेल सुदूरसँग पराजय व्यहोरेको उसलाई बदलालिने अवसर भने हुने छ ।
सबै खेल ठूलो मार्जिनले जितेको सुदूरपश्चिम उपाधि जित्नेमा ढुक्क छ । बलिङ, ब्याटिङ र फिल्डिङमा बलियो मानिएको सुदूरलाई केही सहज हुनेछ ।
शनिबारको खेलमा दिपेन्द्र, अहिले राम्रो फर्ममा भएका बिनोद भण्डारी, साइब जेब, स्कट कुगनिङ र नरेन साउद सुदूरपश्चिमका लागि बलियो हतियार बन्नेछन् ।
ललित नारायण राजबंसी, जिम्मी निशम, लाहिरु मिलान्था, हर्श ढाकेर र किशोर महतो जनकपुरका लागि खेल जिताउने मुख्य भूमिकामा हुने छन् ।