सहकारी ठगी: लेखा समिति सभापति पत्नी अञ्जलासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमा-गौरी सहकारीको रकम अपचलन मुद्दामा मोरङ जिल्ला अदालतले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित अन्य प्रतिवादीहरूसमेत पक्राउ पुर्जीमा परेका छन् ।
मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारी रकम अपचलनको मुद्दामा प्रहरीले गरेको अनुसन्धानको आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले अञ्जला कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यसअघि, सहकारी रजिस्ट्रार कार्यालय कोशीले २४ भदौमा अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरसहित अन्यको नाममा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
लेखा समिति संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि पत्र पठाइएको थियो।
इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रबार २२ करोड बिगोसहित अञ्जला कोइराला, शम्भु रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।